फेसबुकद्वारा घुस लिएर ह्याकरलाई सहयोग गर्ने कर्मचारीहरु बर्खास्त

  • Technology Khabar | ४ मंसिर २०७९, आईतवार
फेसबुकद्वारा घुस लिएर ह्याकरलाई सहयोग गर्ने कर्मचारीहरु बर्खास्त

काठमाडौं ।

सामाजिक सञ्जाल फेसबुक चलाउने कम्पनी मेटाले ह्याकरलाई प्रयोगकर्ताको खातामा पहुँच दिने बदलामा घुस लिएको आरोपमा आफ्ना दुई दर्जनभन्दा बढी कामदार र कन्ट्र्याक्टरहरुलाई कम्पनीबाट निकालेको छ। तीमध्ये केही कामदारले हजारौं डलर घुस लिएर ह्याकरहरूलाई सहयोग गरेका थिए।

वाल स्ट्रिट जर्नलमा प्रकाशित प्रतिवेदनमा उल्लेख भएअनुसार यी मध्ये केही कामदारले गैरकानुनी रूपमा प्रयोगकर्ताका एकाउन्टहरू कब्जा गरेका थिए। फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप सञ्चालन गर्ने मेटामा ३.७ अर्बभन्दा बढी प्रयोगकर्ताको डाटा छ र यसै कारणले कम्पनी र यसका प्रयोगकर्तालाई पटकपटक ह्याकरको निशाना बनाइएको छ ।

मेटाले गत महिना फेसबुकका करिब १० लाख प्रयोगकर्ताहरूलाई केही एप्समार्फत आफ्नो खाताको विवरण चोरी भएको जानकारी गराउने तयारी गरिरहेको बताएको थियो। मेटाले केही कन्ट्र्याक्टरहरुलाई फेसबुकबाट एउटा टूल दिएको छ जसमार्फत आफ्नो पासवर्ड बिर्सेका छन् वा जसको खाता ह्याकरहरूले कब्जा गरेका छन् त्यस्ता प्रयोगकर्ताहरूलाई सहयोग गर्दछ। केही कन्ट्र्याक्टरहरूले यो टूलको दुरुपयोग गरेको सम्भावना छ।

यसअघि गत हप्ता, मेटाले ११,००० भन्दा बढी कर्मचारीहरूलाई हटाउने योजना घोषणा गर्यो। यो कम्पनीको कुल श्रमशक्तिको करिब १३ प्रतिशत हो। यो यस वर्ष प्रविधि कम्पनीहरूमा सबैभन्दा ठूलो छाँटकाँट मध्ये एक हो। हाल मेटाले बढ्दो लागत र विज्ञापनहरूमा कमजोरी जस्ता कठिनाइहरूको सामना गरिरहेको छ।

प्रकाशित: ४ मंसिर २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...