
काठमाडौं ।
यही मङ्सिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन कपिलवस्तुका सबै मतदान केन्द्रलाई गुगल म्यापबाट निरीक्षण गरिने भएको छ।
जिल्लाको २३५ वटै मतदान केन्द्रलाई गुगल म्यापमा राखिएको छ।
जिल्ला सुरक्षा समितिले निर्वाचनलक्षित विशेष सुरक्षा योजना बनाउँदै २३५ वटा मतदान स्थल र ४७३ वटै केन्द्रलाई गुगल म्यापमा राखेको हो ।
नेपाली सेनाका प्राविधिकको सहयोगमा जिल्लामै पहिलो पटक कायम गरिएका मतदान स्थललाई गुगल म्यापमा राखिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए।
उनले ढुक्कसँग मतदान अधिकृत र कर्मचारीलाई कार्यस्थलमा खट्न निर्देशन दिइएको बताए। शान्ति सुरक्षाको स्थिति बलियो बनाइएको उनको भनाइ छ। उनले भने, “हरेक मतदान केन्द्रमा सूचना पाएको १० मिनेटमै सुरक्षाकर्मीको टोली पुग्ने गरी प्रबन्ध गरिएको छ।”
गुगल म्यापका आधारमा सुरक्षाकर्मीलाई खट्न सजिलो हुने उनले बताए।
म्यादी, प्रहरी, नेपाली सेना तथा राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालित भइसकेका छन् । जिल्लामा करिब पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। गोरखापत्रबाट
प्रकाशित: ३ मंसिर २०७९, शनिबार