
काठमाडौं ।
राहदानी विभागले विद्युतीय राहदानी जारी गर्न शुरू भएको एक वर्ष भित्रमा ९ लाख भन्दा धेरै ई पासपाेर्ट जारी गरेको छ। विभागले सबै जिल्ला प्रशासन कार्यालय, १७ ईलाका प्रशासन कार्यालय र ३८ कूटनीतिक नियोगहरूबाट विद्युतीय राहदानी जारी गर्ने कार्य भइरहेको भन्दै सो अवधिमा कुल ९ लाख ३३ हजार २९३ थान विद्युतीय राहदानी जारी भएको उल्लेख गरेको छ।
विभागले विद्युतीय राहदानी जारी गर्न शुरू गरिएको २०७८ मंसिर ०१ देखि २०७९ कात्तिक ३० गतेसम्ममा राहदानी विभागबाट ३ लाख ३४ हजार ५८३, जिल्ला तथा इलाका प्रशासन कार्यालयहरूबाट ५ लाख १६ हजार ८०५ र विदेशस्थित नियोगहरूबाट ८१ हजार ९०५ थान गरी जम्मा ९ लाख ३३ हजार २९३ थान विद्युतीय राहदानी जारी भएको जानकारी दिएको छ।
२०७८ असोजमा विद्युतीय राहदानीको परीक्षण उत्पादन शुरू गरी सफल परीक्षण उत्पादनपश्चात् २०७८ मंसिर १ बाट विद्युतीय राहदानीको औपचारिक रूपमा उत्पादन तथा वितरण शुरू गरिएको थियो ।
विभागकाअनुसार विभिन्न जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालयहरूबाट लाईभ इनरोलमेन्ट भई विभागमा छपाइ भएका विद्युतीय राहदानीहरू सम्बन्धित जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालयहरूमा यथाशीघ्र पुग्ने व्यवस्था मिलाइएको छ।
राहदानीवापत सेवाग्राहीले तिर्नुपर्ने राजस्व अनलाइनबाट समेत तिर्नसक्ने व्यवस्था मिलाएर सेवा प्रवाहमा सहजता ल्याउने प्रयास गरिएको र सेवा प्रवाहमा सहजता ल्याउन नेपाल ईपासपोर्ट (Nepal ePassport) मोबाइल एपको निर्माण गरिएको बताएको छ। साथै, सफ्टवेयरमा आवश्यक सुधार गरी अनलाइन प्रणालीलाई थप सेवाग्राही मैत्री बनाउन प्रयास समेत भइरहेको दाबी गरेको छ।
यसका साथै राहदानी छिटो बनाइदिने, एप्वाइन्टमेन्ट डेट अगाडि सारिदिने जस्ता विभिन्न बहानामा सेवाग्राहीहरूलाई ठगी गर्ने बिचौलियाहरूलाई विभाग, नेपाल प्रहरी र सेवाग्राहीसमेतको संयुक्त प्रयासमा पहिचान गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि सम्बन्धित प्रहरी कार्यालयहरुमा पठाउने गरिएको जनाएको छ।
विभागले राहदानी बनाउने सम्बन्धमा विभिन्न सामाजिक सञ्चालहरूमा भ्रामक सूचना सम्प्रेषित गर्ने व्यक्ति तथा साईबरहरूलाई समेत अनुसन्धान तथा कारवाही गरिदिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र साईबर ब्यूरोलाई अनुरोध गर्ने गरिएको जानकारी दिएको छ।
यसैगरी राहदानी बनाउने सिलसिलामा विभिन्न बहानामा ठगी गरेको पाइएमा त्यसरी ठगी गर्नेहरूबारे यस विभाग वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराइदिन समेत अनुरोध गरेको छ।
प्रकाशित: २ मंसिर २०७९, शुक्रबार