
काठमाडौं ।
नागरिक एपले मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको लागि मतदातालाई सहयोगी फिचर ल्याएकोछ।
मतदाताहरुले नागरिक एपमा आफ्नो मतदाता परिचय पत्र लिंक गरेको त्यसको बारेमा बिस्तृत जानकारी हासिल गर्न सक्ने भएका छन्।
जसमा मतदाता क्रम संख्या, मतदान केन्द्र र मतदान स्थलको जानकारी समावेश गरिएको छ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रका सूचना अधिकारी रमेश पोखरेलले मतदान केन्द्रको जानकारी दिनका लागि आजैदेखि उक्त फिचर ल्याईएको जानकारी दिए।
“यो फिचर नागरिक एपमा मतदाता परिचय पत्रको जानकारी हालेका सबैले प्रयोग गर्न सक्नेछन्,” उनले भने, “मंसिर ४ मा हुने निर्वाचनलाई सफल बनाउनका लागि तथा आफ्नो मतदान केन्द्र थाहा नभएका मतदाताहरुलाई नयाँ फिचरले सहयोग गर्नेछ।”

यसको लागि मतदाताले आफ्नो स्मार्टफोनमा भएको नागरिक एपमा आफ्नो मतदाता परिचय पत्र लिंक गर्नुपर्नेछ।
नागरिक एप डाउनलोड गर्नका लागि मोबाइल प्रयोगकर्ताले आफ्नै नाममा सिमकार्ड लिएर प्रयोग गरेको हुनुपर्दछ।
उक्त एपमा आफ्नो मतदाता परिचयपत्रको बारेमा जानकारी हालेसँगै एपले त्यसको बिबरण र मतदान केन्द्रको नक्सा देखाउँछ।
मतदाता परिचयपत्रको मुनि भागमा एपमा “भ्यू पोलिङ्ग सेन्टर इन म्याप” भन्ने बटनमा क्लिक गरेसँगै त्यहाँबाट गुगल म्याप लिंक हुनेछ।
उक्त गुगल म्यापमा सो एपमार्फत मतदाताको आईडी कार्डमा भएको बिबरणअनुसारको मतदान केन्द्र देखाउनेछ। जहाँ मतदाताले मंसिर ४ गते आफ्नो ईच्छ्याईएको उम्मेदवारलाई जिताउनका लागि भोट दिन सक्नेछन्।
प्रकाशित: २ मंसिर २०७९, शुक्रबार