
काठमाडौं ।
भारतको पहिलो निजी रकेट विक्रम-एस आज प्रक्षेपण गरिएको छ। भारतको अन्तरिक्ष इतिहासमा निजी रकेट अन्तरिक्षमा उडेको यो पहिलो पटक हो। यससँगै स्काइरुट एरोस्पेस रकेट विकास र उडान गर्ने भारतको पहिलो निजी क्षेत्रको कम्पनी बनेको छ।
विक्रम–एस रकेटले आज बिहान भारतीय समयअनुसार ११ः३० बजे श्रीहरिकोटाबाट उडेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।। यसलाई मिशन प्रारम्भ नाम दिइएको छ।
विक्रम-एस रकेट हैदरावादस्थित स्काइरुट एयरोस्पेसले बनाएको हो। यसको नाम भारतको अन्तरिक्ष कार्यक्रमका संस्थापक विक्रम साराभाईको नामबाट राखिएको हो।
कम्पनीका सीईओ तथा सह-संस्थापक नागा भरत डाकाले विक्रम-एस रकेट एकल चरणको सब-अर्बिटल लन्चिङ्ग भेहिकल भएको र यसले ३ ग्राहक पेलोड बोक्ने भारतीय सञ्चारमाध्यमलाई बताए। अहिलेसम्म प्राप्त जानकारी अनुसार प्रक्षेपण सफल भएको मिडिया रिपोर्टमा उल्लेख छ।
कम्पनीले ३ ओटा विक्रम रकेट डिजाइन गरिरहेको छ, जसमा क्रायोजेनिक इन्धन प्रयोग हुनेछ। विक्रम-एस रकेटको कुरा गर्ने हो भने यसको तौल ५ सय ४५ किलो छ। यो ६ मिटर अग्लो रकेट हो। आफ्नो पहिलो उडानमा, यसले स्पेस किड्ज इन्डिया, बाजुमाक आर्मेनिया र एन-स्पेस टेक इन्डियाका ३ स्याटेलाइटहरू बोकेको छ।
भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का एक वरिष्ठ अधिकारीले रकेट प्रक्षेपण हुनुभन्दा ३ घण्टा अगाडि काउन्टडाउन सुरु भएको बताएका थिए।
स्काईरुट एरोस्पेस भारतको हैदरावादमा आधारित रकेट स्टार्टअप जुन २०१८ मा पवन कुमार चन्दना र नागा इन्डिया पोस्टद्वारा स्थापना गरिएको थियो। अहिलेसम्म कम्पनीले ५२६ करोड रुपैयाँ उठाएको छ र कम्पनीमा करिब २०० कर्मचारी छन्।
प्रकाशित: २ मंसिर २०७९, शुक्रबार