
काठमाडौं ।
अनलाइन मार्फत बसको टिकट काट्न सकिने प्लेटफर्म बससेवाले कानून र निर्वाचन आचारसंहिता विपरित मतदातासँग आफूले मत(भोट) दिएको उमेद्वारको विषयमा बससेवालाई जानकारी दिने गरी अफर सार्वजनिक गरेको छ।
अहिलेको निर्वाचन कसुर तथा सजाय ऐनअनुसार त्यसरी मतदानको जानकारी सार्वजनिक गर्न नहुने प्रावधान छ। तर कम्पनीले भने कानून विपरित मतदातासँग उम्मेदवारको बारेमा जानकारी दिनेगरी अफर ल्याएको हो ।
कम्पनीले नेपालमा अनलाइन मार्फत बस टिकटिङ्ग सेवा प्रदान गर्दै आएको बससेवा डटकमले आगामी आइतबार हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा घर जान लागेका मतदातालाई लक्षित् गर्दै विशेष अफर सार्बजनिक गरेको उल्लेख गरेको छ।
अफर अन्तरगत निर्बाचनमा भाग लिन जाने मतदाता मध्ये भाग्यशाली तीनजनाले बससेवाको तर्फबाट आकर्षक उपहार प्राप्त गर्नेछन् । साथै ती मतदाताले भोट दिएका तीन जना उमेद्धारले समेत आकर्षक उपहार प्राप्त गर्ने बताईएको छ।
विज्ञप्तीमा भनिएको छ, “मतदाताले भोट दिएका उमेद्धारले निर्बाचनमा विजयी वा हार बेहोरेपनि उपहार प्राप्त हुनेछ । अफरबाट विजयी मतदाताले आफुले मत दिएको उमेद्वारको विषयमा बससेवालाई जानकारी दिएपछि उमेद्धारलाई उक्त उपहार प्राप्त हुनेछ।”
तर मतदाताले सिफारिस गरेको उमेद्धारको विवरण भने गोप्य राखिने दाबी गरिएको छ। विजेताको चयन बससेवाको आधिकारिक फेसबुक पेजमा लाइभ मार्फत गोलाप्रथाबाट गरिने उल्लेख छ।
‘देशको भविष्यसँग जोडिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदाताको बढि भन्दा बढि सहभागीता होस् भन्ने उदेश्यले हामीले यस्तो अफर सार्बजनिक गरेका हौँ। अर्कोतर्फ मतदाता मत हाल्न जाने तर उमेद्धारले मतदाता नचिन्ने अवस्था पनि छ, त्यसैले मत दिएका उमेद्धारलाई पनि मतदाताको सिफारिसको आधारमा उपहार दिने योजना बनाएका हौँ,’ मतदाता लक्षित् उपहार योजनाबारे बससेवाका प्रमुख कार्यकारी अधिकृत पि.आर. खनालले भनेका छन्।
यो योजना कार्तिक ३० गतेदेखि मंसिर ५ गतेसम्म लागु हुने कम्पनीले जानकारी दिएको छ।
प्रकाशित: २९ कार्तिक २०७९, मंगलवार