काठमाडौं ।
भन्सार विभागले सिस्टम अपग्रेड गर्दा एक सातादेखि व्यावसायीहरुले निर्यात र आयातमा समस्या भोग्नु परिरहेको छ। भन्सार विभागले सूचना प्रविधि शाखाको सिस्टम अपग्रेड गर्दा सफ्टवेयरमा समस्या आएको जानकारी दिएको छ।
विभागले कात्तिक २० गते शनिबारदेखि सिस्टम अपग्रेड शुरु गरेको थियो। उक्त दिन परीक्षण सफल देखिएकाले अपग्रेडेड सिस्टम सञ्चालनमा ल्याइएको विभागका सूचना अधिकारी पुण्य विक्रम खड्काले जानकारी दिए।
‘अहिले टेस्टेड सर्भर चलाई रहेका छौं। त्यसमा बेलाबेलामा समस्या आइरहेको साथीहरुले हेरीराख्नु भइरहेको छ। पुरानो सिस्टमबाट नयाँमा जाँदा बिच बिचमा केही समस्या आएको हो,’ खड्काले टेक्नोलोजीखबरसँग भने, ‘बिग्रेर चल्दै नचलेर भन्दा पनि हाम्रो सिस्टमलाई अपग्रेड गर्ने क्रममा समस्या आइरहेको हो।’
इन्टरमोडलको गेट इन्टिग्रेसन लगायतमा सानातिना समस्या देखिएकाले केही कठिनाइ भएको विभागको भनाई छ।
विभागले निर्वाचनको समयमा भन्सारमा तुलनात्मक रुपमा कम चाप पर्ने अपेक्षासहित सिस्टम अपग्रेड शुरु गरेको हो। नयाँ सिस्टममा जाँदा डाटा इन्ट्रिमा केही समस्या अहिले पनि देखिएको छ।
निर्वाचनको समयमा केही दिनका लागि भन्सारका काम कारबाही बन्द हुन्छन्। त्यही बिचमा सिस्टममा देखिएका समस्याहरु हल गर्ने विभागको योजना रहेको छ।
निर्वाचन सकिएपछि बिना रुकावट सिस्टमले काम गर्ने विभागका सूचना अधिकारीको भनाइ छ।
हाल आयात निर्यातको सबै कार्य तथा कागतपत्र अनलाइनमार्फत पेश गर्नुपर्ने प्रावधान रहेको छ।
प्रकाशित: २८ कार्तिक २०७९, सोमबार