
काठमाडौं ।
मंसिर ४ गते हुने निर्वाचनको समयमा दूरसञ्चार तथा केबुल सेवाका सवारीसाधनहरु निर्वाध चल्न पाउने भएका छन्। अत्यावश्यक सेवा अन्तरगत समावेश रहेको दूरसञ्चार तथा केबुल सेवाका सवारी साधनहरुलाई निर्वाचनको दिनमा समेत चलाउने व्यवस्था निर्वाचन आयोगले गरेको छ।
आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मतदानको दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९ स्वीकृत गरेको छ। सोही आधारमा आयोगले दूरसञ्चार तथा केबुल सेवाका सवारी साधनहरु संचालन गर्न दिने भएको हो।
मतदानको दिन बिरामी बोकेको एम्बुलेन्स, खानेपानीको ट्यांकर, दुध बोक्ने सवारी साधन, दमकल, सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालय वा प्रदेश सरकार मातहतको सञ्चार प्राधिकरण वा अन्य त्यस्तै प्रकृतिको नियामक निकायबाट जारी गरिएको प्रेस पास वा प्रचलित कानूनबमोजिम दर्ता र प्रेस काउन्सिल नेपालमा सूचीकृत भई सञ्चालनमा रहेका सम्बन्धित सञ्चारगृहबाट जारी परिचयपत्र वाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधन, दूरसञ्चार तथा केबुल सेवाका लागि प्रयोग हुने सवारी साधन, शव वाहन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारी साधन, निर्वाचन आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अवलोकनकर्ता, अनुगमनकर्ताले प्रयोग गर्ने सवारी साधन, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन, तरकारी, फलफूल तथा विद्युत सेवाका लागि प्रयोग हुने सवारी साधन, कूटनीतिक नियोग, युएन एजेन्सी र द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार संस्थाहरूमा कार्यरत पदाधिकारी एवं कर्मचारीले प्रयोग गर्ने निलो नम्बर प्लेट भएको सवारी साधन, विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेट भएको सवारी साधन, सुरक्षाकर्मीले प्रयोग गर्ने सुरक्षा निकायको सवारी साधन, आफू खटिएको मतदान केन्द्रसम्म जान र मतदान केन्द्रबाट फर्किनको लागि मतदान कार्यमा खटिने कर्मचारी तथा स्वयंसेवकले प्रयोग गर्ने सवारी साधनका लागि अनुमति लिनु नपर्ने व्यवस्था गरिएको जनाएको छ। तर त्यस्ता सवारी साधन मतदाता ओसारपसार गर्ने कामको लागि प्रयोग गर्न पाइने छैन।
मापदण्ड विपरीत सवारी साधन प्रयोग गरेको पाइएमा सुरक्षा निकाय तथा सुरक्षाकर्मीले त्यस्तो सवारी साधन कब्जामा लिई आवश्यक कानूनी कारवाही गर्ने आयोगले उल्लेख गरेको छ।
प्रकाशित: २७ कार्तिक २०७९, आईतवार