
काठमाडौं ।
इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले आज शनिवारदेखि काठमाडौं उपत्यका भित्र तार व्यवस्थापन गर्ने काम पुनः शुरु गरेको छ।
आइस्पानले आफ्नै नेतृत्व र पहलमा तार व्यवस्थापनको कार्य चरणबद्ध रुपमा फेरी शुरु गरेको हो। यस पटक सरकारी केन्द्रिय निकाय सिंहदरबार वरिपरिबाट बिहान ८ बजेदेखि तार व्यवस्थापनको काम शुरु गरेको छ।
यस पटक भने सिंहदरबारको वरिपरि ४ चरणमा तार व्यवस्थापन गर्ने जनाएको छ। पहिलो दिन पहिलो चरणमा पुतलिसडकदेखि माइतिघरसम्म व्यवस्थापनको काम गर्दैछ। त्यसपछि माइतिघरदेखि हनुमान स्थानसम्म तथा हनुमान स्थानदेखि भाटभटेनी मलसम्म काम गर्ने भएको छ।

त्यस्तै अर्को दिन हनुमानस्थानदेखि अनामनगरसम्म हुनेछ भने अन्तिम चरणमा अनामनगरदेखि पुतलीसडकसम्मको तार व्यवस्थापनको काम हुनेछ।
यसको लागि आइस्पानले केहि दिनअघि नै नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई सहजीकरणका लागि पत्र पठाउँदै आग्रह गरेको थियो। उक्त पत्रमा सरोकारबाला निकायहरु नेपाल विद्युत प्राधिकरण, काठमाण्डौ महानगरपालिका, काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय लगायतसँग आवश्यक स्रोत साधन सहित उपस्थित हुनेगरी सहयोग माग गरेको छ।
यसअघि पनि इन्टरनेट सेवा प्रदायकहरुको छाता संस्था आईस्पानले विभिन्न स्थानहरुमा तार व्यवस्थापनको काम गरिसकेको छ।

संस्थाले २०७९ साउन २५ गतेदेखि भदौ २७ गतेसम्म पर्यटकिय क्षेत्र ठमेल, २०७९ असोज २ गते देखि १३ गतेसम्म टोखा नगरपालिका, साथै न्यूरोड, संकटा लगायतका ठाउँमा तार व्यवस्थापन गरिसकेको छ।
यसअघि नेपाल विद्युत प्राधिकरणले पोलमा अप्टिकल फाइबर राखेका सबै इन्टरनेट सेवा प्रदायक तथा केबल टिभी सेवा प्रदायकहरुलाई ४५ दिन भित्र तार व्यवस्थापन गरेर जानकारी दिन सूचितसमेत गरेको थियो।

अहिलेको तार व्यवस्थापनमा वर्ल्डलिंक कम्युनिकेसन्स, भायनेट कम्युनिकेसन्स, डिश होम फाइबरनेट, क्लासिक टेकलगायतले सहकार्य गरेका छन्।



प्रकाशित: २६ कार्तिक २०७९, शनिबार