काठमाडौं ।
इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले यहि शनिवारदेखि काठमाडौं उपत्यका भित्र तार व्यवस्थापन गर्ने काम पुनः शुरु गर्ने भएको छ।
आइस्पानले आफ्नै नेतृत्व र पहलमा तार व्यवस्थापनको कार्य चरणबद्ध रुपमा फेरी शुरु गर्न लागेको हो। यस पटक सरकारी केन्द्रिय निकाय सिंहदरबार वरिपरिबाट यहि २६ गते शनिवार बिहान ८ बजेदेखि तार व्यवस्थापनको काम शुरु गर्न लागेको हो।
यसको लागि आइस्पानले नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई सहजीकरणका लागि पत्र पठाउँदै आग्रह गरेको छ। यसका साथै टेक्नोलोजीखबरले हेरेको उक्त पत्रमा सरोकारबाला निकायहरु नेपाल विद्युत प्राधिकरण, काठमाण्डौ महानगरपालिका, काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय लगायतसँग आवश्यक स्रोत साधन सहित उपस्थित हुनेगरी सहयोग माग गरेको छ।
यसअघि पनि इन्टरनेट सेवा प्रदायकहरुको छाता संस्था आईस्पानले विभिन्न स्थानहरुमा तार व्यवस्थापनको काम गरिसकेको छ।
संस्थाले २०७९ साउन २५ गतेदेखि भदौ २७ गतेसम्म पर्यटकिय क्षेत्र ठमेल, २०७९ असोज २ गते देखि १३ गतेसम्म टोखा नगरपालिका, साथै न्यूरोड, संकटा लगायतका ठाउँमा तार व्यवस्थापन गरिसकेको छ।
यस पटक भने सिंहदरबारको वरिपरि ४ चरणमा तार व्यवस्थापन गर्ने जनाएको छ। पहिलो दिन माइतिघरदेखि हनुमान स्थानसम्म तथा हनुमान स्थानदेखि भाटभटेनी मलसम्म गर्ने भएको छ। यसमा वर्ल्डलिंक र डिशहोमले नेतृत्व गर्नेछन्।
त्यस्तै अर्को दिन हनुमानस्थान अनामनगरहुँदै डिल्लीबजार मोडसम्मको बाटोमा भायनेटले तार व्यवस्थापन गर्नेछ।
अन्तिम चरणमा भने अनामनगरदेखि पुतलीसडकसम्मको तार व्यवस्थापनको काम क्लासिक टेकले जिम्मा लिनेछ।
यसका साथै सिंहदरबारमा तार व्यवस्थापन कार्यको अनुगमन, सहजीकरण लगायतका कार्य गर्न प्राधिकरणबाट प्रतिनिधि कर्मचारी पठाइ दिन समेत आग्रह गरेको छ।
यसअघि नेपाल विद्युत प्राधिकरणले पोलमा अप्टिकल फाइबर राखेका सबै इन्टरनेट सेवा प्रदायक तथा केबल टिभी सेवा प्रदायकहरुलाई ४५ दिन भित्र तार व्यवस्थापन गरेर जानकारी दिन सूचितसमेत गरेको थियो।
प्रकाशित: २४ कार्तिक २०७९, बिहीबार