काठमाडौं ।
एप्पलका लागि आईफोन बनाउने फक्सकनले टेस्लाको साइबरट्रकलाई चुनौती दिन सक्ने अमेरिकी इलेक्ट्रिक पिकअप ट्रक फर्ममा लगानी विस्तार गर्ने भएको छ।
बीबीसीका अनुसार फक्सकनले घाटामा रहेको स्टार्ट अप लर्डस्टाउन मोटर्सको सेयरमा १७० मिलियन अमेरिकी डलर खर्च गरिरहेको छ।
कम्पनीले आफ्नो डेब्यू मोडल इन्ड्युरेन्सको उत्पादनका लागि नगद प्रवाह बढाइरहेको छ। लर्डस्टाउनले भर्खरै अमेरिकी राज्य ओहायोको पूर्व जनरल मोटर्स प्लान्टमा गाडी निर्माण गर्न शुरु गरेको छ।
सम्झौता अन्तर्गत फक्सकनले लर्डस्टाउनमा १८ प्रतिशत भन्दा बढी हिस्सेदारी खरिद गरेको छ। योसँगै कम्पनी सबैभन्दा ठूलो लगानीकर्ता बनेको छ।
‘फक्सकनसँग हाम्रो पहिलो लेनदेन एक वर्ष भन्दा बढी अघि घोषणा गरेदेखि, यो एक व्यापक रणनीतिक साझेदारी विकास गर्ने हाम्रो उद्देश्य हो जसले दुबै कम्पनीहरूको क्षमतालाई फाइदा पुर्याउँछ,’ लर्डस्टाउनका कार्यकारी अध्यक्ष डेनियल निनिवागीले भने।
‘फक्सकनको पछिल्लो लगानी त्यस दिशामा अर्को कदम हो,’ उनले थपे।
दुवै कम्पनी मिलेर विद्युतीय सवारीसाधन निर्माण गर्ने बताए पनि उनीहरुले यो योजनाको थप विवरण दिएका छैनन्।
विश्वको सबैभन्दा ठूलो इलेक्ट्रिक कार निर्माता टेस्ला, अर्बपति एलोन मस्कको स्वामित्वमा छ। यस महिनाको शुरुमा रोयटर्स समाचार एजेन्सीले २०२३ को अन्त्यमा आफ्नो साइबरट्रकको ठूलो उत्पादन शुरु गर्ने योजना बनाएको रिपोर्ट गरेपछि यो सम्झौता भएको हो।
मस्कले २०१९ मा साइबर ट्रकको घोषणा गरेका थिए।
लर्डस्टाउन घाटामा चलिरहेकाले ताइवानी कम्पनी फक्सकनको नगद प्रभाव गरिरहेको छ।
सेप्टेम्बरको अन्त्यसम्मको तीन महिनाको तथ्यांकमा कम्पनी १५४.४ मिलियन अमेरिकी डलर घाटामा छ। गत वर्षको सोही अवधिमा कम्पनी ९५.८ मिलियन अमेरिकी डलर घाटामा थियो।
उक्त घोषणा पछि न्यूयोर्क स्टकमा लर्डस्टाउनको शेयर करिब १८ प्रतिशतले बढेको छ।
प्रकाशित: २३ कार्तिक २०७९, बुधबार