
काठमाडौं ।
राष्ट्रिय परिचयपत्र वितरणको कामलाई थप प्रभावकारी बनाउन रामेछापमा अब वडा तहबाटै काम हुने भएको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सदरमुकाम मन्थलीमा राष्ट्रिय परिचयपत्रसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरी अब परिचयपत्र वितरण कार्यलाई वडा तहसम्म पुर्याउने जानकारी दिएको हो।
अबको एक हप्तापछि जिल्लाको १२ देखि १५ वटा वडाबाट परिचयपत्रको काम सुरु गरिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तीर्थराज भट्टराईले बताए। ‘पहिलो चरणमा रामेछापमा रहेका ६४ मध्ये १२ देखि १५ वटा वडाबाट काम सुरु हुन्छ, अहिले एउटा वडामा दुई स्थानबाट विवरण प्रविष्ट गर्ने तयारी छ’, उनले भने।
विभागले तीन महिनाभित्र सबै वडामा काम सक्ने लक्ष्य राखेकाले आवश्यकताका आधार फेरि १० वटासम्म स्टेसन थपेर काम गरिने उनले बताए। उनका अनुसार एउटा स्टेसनबाट दैनिक कम्तीमा ४० जनाको विवरण प्रविष्ट हुन्छ, एउटा वडामा १० देखि १५ दिनमा विवरण प्रविष्ट गरिसक्ने गरी तयारी गरिएको छ।
जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्काले अहिले स्मार्ट परिचयपत्र अत्यावश्यक रहेकाले यो परिचयपत्र बनाउने काममा सहयोग पुर्याउन आग्रह गरिन्। नागरिकलाई सहज रूपमा राष्ट्रिय परिचयपत्र प्रदान गर्ने उद्देश्यले स्थानीय तहसँगको समन्वय र सहयोगमा वडा तहबाटै परिचयपत्रको काम गर्न लागिएको रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले बताईन्।
जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म रामेछापका २० हजारभन्दा बढी नागरिकले राष्ट्रिय परिचयपत्रका लागि आफ्नो विवरण प्रविष्ट गराएका छन् तर अहिलेसम्म एक जनाले पनि राष्ट्रिय परिचयपत्र पाउन सकेका छैनन्।
परिचयपत्रका लागि आफ्नो विवरण प्रविष्ट गराउनकै लागि नागरिकले सास्ती भोग्दै आएका छन्। रामेछापमा २०७७ साउन १ गते बिहीबारबाट राष्ट्रिय परिचयपत्रका लागि स्थायी विवरण दर्ता कार्यको सुरु भएको थियो।
प्रकाशित: २१ कार्तिक २०७९, सोमबार