काठमाडौंमा फाइभजी परीक्षण शुरु, अंग्रेजी नयाँ वर्षदेखि सर्वसाधारणले प्रयोग गर्न सक्ने

Technology Khabar १४ कार्तिक २०७९, सोमबार

काठमाडौं ।

सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले राजधानीमा फाइभजीको परीक्षण शुरु गरेको छ। काठमाडौंको सुन्धारामा फाइभजी उपकरण जडान गरेर परीक्षण शुरु गरिएको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए।

‘सुन्धारामा फाइभजी उपकरण जडान कार्य सम्पन्न भइसकेको छ। परीक्षण गर्न कति समय लाग्छ भन्ने एकिन गर्न सकिएको छैन,’ अधिकारीले टेक्नोलोजीखबरलाई भने, ‘यसले गर्दा यहि मितिबाट फाइभजी सेवा शुरु हुन्छ भनेर भन्न गाह्रो छ।’

तर अंग्रेजी नयाँ वर्ष भित्रमा काठमाडौंमा फाइभजी सेवा सञ्चालनमा ल्याउने गरी काम गरिरहेको अधिकारीले जानकारी दिए।

फाइभजी सेवा परीक्षणकै क्रममा रहेकाले तत्काल उपभोक्ताले प्रयोग गर्न भने सक्ने छैन्। फाइभजी परीक्षण सफलतापूर्वक सम्पन्न भएपछि भने उपभोक्ताले प्रयोग गर्न सक्ने उनको भनाई छ।

टेलिकमले काठमाडौंको बबरमहल क्षेत्रमा पनि फाइभजी उपकरण जडान गर्ने कार्य गरिरहेको छ। योसँगै काठमाडौंको दुई स्थानमा फाइभजी उपकरण जडान हुनेछ। बबरमलमा पनि जडानको कार्य सम्पन्न हुने बित्तिकै परीक्षण शुरु गरिनेछ।

टेलिकमले ७ ओटा फाइभजी उपकरण मार्फत ७ प्रदेशमै फाइभजी सेवा शुरु गर्ने योजना बनाएको छ। टेलिकमले फाइभजी उपकरणका लागि फोरजी उपकरण आपूर्तिकर्ता कम्पनीसँग सम्झौता गरेको छ। उक्त सम्झौता बमोजिम अहिले कम्पनीले ४ ओटा फोरजी उपकरण टेलिकमलाई उपलब्ध गराएको छ।

पहिलो चरणमा बागमती प्रदेशको काठमाडौंबाट शुरु गरिनेछ। त्यसपछि मुलुकका अन्य मुख्य ३ शहरमा फाइभजी सेवा शुरु गरिनेछ। टेलिकमले सातै प्रदेशका कम्तिमा एक शहरमा फाइभजी सेवा परीक्षण गर्ने योजना लिएको छ।

प्रकाशित: १४ कार्तिक २०७९, सोमबार

तपाइको प्रतिक्रिया