नेकपा एसको घोषणापत्रः ‘मेसिन लर्निंग, आर्टिफिसियल इन्टेलिजेन्स, नानो प्रविधिलाई प्रवर्द्धन गर्ने’

  • Technology Khabar | १४ कार्तिक २०७९, सोमबार
नेकपा एसको घोषणापत्रः ‘मेसिन लर्निंग, आर्टिफिसियल इन्टेलिजेन्स, नानो प्रविधिलाई प्रवर्द्धन गर्ने’

काठमाडौं ।

उत्पादन वृद्धिका साथै ढिलासुस्ती र लापरवाही नियन्त्रणका लागि विज्ञान तथा प्रविधिको अधिकतम प्रयोग गर्नुपर्ने नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)(नेकपा एस) ले बताएको छ।

एकीकृत समाजवादीले ‘विज्ञान.प्रविधि र आविष्कारः आर्थिक–सामाजिक रुपान्तरणको मूल आधार’ भन्ने नाराका साथ आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।

विज्ञान तथा प्रविधिसम्बन्धी नीति तय गर्दा ‘राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति २०७६’ र ‘राष्ट्रिय शिक्षा नीति २०७६’ ध्यान दिइने घोषणापत्रमा लेखिएको छ।

घोषणापत्रकाअनुसार अर्थतन्त्रका आधारभूत विषयमा आवश्यक सफलताका लागि विज्ञान र प्रविधिको उच्चत्तम प्रयोग गरिनु पर्दछ। त्यसैले बजेट निर्माण गर्दा अनुसन्धान र विकासमा हरेक तहका सरकारको कुल बजेटको कम्तीमा पनि १ प्रतिशत रकम छुट्याउने, सबै खाले वित्तीय र व्यावसायिक निकायहरूको कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) मा वैज्ञानिक अनुसन्धानलाई अनिवार्य गर्ने, विभिन्न स्रोतबाट रकम जुटाई ’राष्ट्रिय अनुसन्धान कोष’ स्थापना गर्ने र अनुसन्धानमा खर्च गरिने सम्पूर्ण बजेट प्रतिस्पर्धात्मक विधि तथा एकद्वार प्रणालीबाट मात्र खर्च गर्ने व्यवस्था मिलाइने लेखिएको छ।

अनुसन्धानमा सरकारी निकाय, विश्वविद्यालय र उद्योगबिचको सहकार्यलाई प्रोत्साहन गर्ने र सरकारी निकायले सबै अनुसन्धानात्मक क्रियाकलापहरू प्राथमिकताका साथ विश्वविद्यालयहरूबाट गराउने व्यवस्था मिलाइने भएको छ।

देशभरका सबै सरकारी निकायमा औपचारिक व्यावसायिक ई-मेलको मात्र प्रयोग गर्न र सम्पूर्ण सरकारी निकायका अभिलेखहरू अनिवार्य डिजिटलाइज गरी सुरक्षित राख्ने व्यवस्था मिलाउन पहल गरिने प्रतिबद्धता जाहेर गरेको छ।

मेसिन लर्निग, आर्टिफिसियल इन्टेलिजेन्स, नानो प्रविधिलगायतका नवोदित प्रविधिहरूको प्रवर्द्धन गर्ने, प्रयोग गर्ने र तत्सम्बधी नियमनको व्यवस्था गर्न पहल गरिने उल्लेख छ।

नेपालमा पाइने जडीबुटीहरूबाट असाध्य रोगहरूको उपचार विधि आविष्कार गर्न र बहुमुल्य खनिजहरूका बारेमा अनुसन्धान र विकास गर्न विशेष कोष खडा गरी कार्यक्रम सुरुवात गरिने छ। यसका लागि अन्तर्राष्ट्रिय स्तरको सुविधासम्पन्न ’केन्द्रीय विज्ञान तथा प्रविधि प्रयोगशाला’ स्थापना गरी विज्ञान तथा प्रविधि अनुसन्धान गर्ने संस्था तथा व्यक्तिलाई सेवा उपलब्ध गराउन पहल गरिने नेकपा एसले भनेको छ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई पुनःसंरचना गरी युगको आवश्यकता अनुसारको वैज्ञानिक नीति निर्माण र नयाँ युगको संवाहकको रूपमा विकास गर्न र प्रत्येक प्रदेशमा नास्टका एक/एक विशिष्ट प्रयोगशाला एवं स्रोत केन्द्र राख्न पहल गरिने छ। ‘विज्ञान, प्रविधि र आविष्कारः आर्थिक सामाजिक रूपान्तरणको मूल आधार’ कार्यक्रमको स्पष्ट मार्गचित्र निर्माण गरिने छ ।

विभिन्न देशमा उच्च शिक्षा हासिल गरेका र देश फर्केर सेवा गर्न चाहने बैज्ञानिक प्राविधिकहरू प्रति लक्षित विशेष कार्यक्रम सञ्चालन गरिने योजना लिएको छ।

यी सबै क्षेत्रमा नविन प्रविधि विकास तथा हस्तान्तरण र स्मार्ट प्रविधिको उपयोगमा जोड दिइने छ। युवा वैज्ञानिकहरूका सपनाको प्रवर्धन गरी देश निर्माणमा लगाउनका लागि “हजार कोपिला प्रस्फुटन कार्यकम“ सञ्चालन गरिने छ।

यसका साथै उद्योगहरूसँगको सहकार्य, नवप्रवर्तन तथा वैज्ञानिक अनुसन्धानको क्षमतालाई प्राध्यापकहरूको पदोन्नतिको आधार बनाइने बताएको छ।

‘सरकारी कार्यालयहरूमा सम्पूर्ण आर्थिक कारोबारलाई नगदविहीन भुक्तानी प्रणालीमा आबद्ध गर्ने, सेवाग्राहीले चाहे अनलाइनमार्फत उजुरी/गुनासो सम्बन्धी निवेदन दिने र सार्वजनिक खरिद र निर्माण सम्बन्धी सम्पूर्ण काम अनलाइनमार्फत गर्ने व्यवस्था मिलाउन पहल गरिने छ,”नेकपा एसको घोषणापत्रमा लेखिएको छ, “सार्वजनिक सेवा प्रवाहलाई सूचना प्रविधिमा आबद्ध गरी छिटो छरितो, गुणस्तरीय र पारदर्शी तुल्याउन जोड गरिनेछ । सूचना प्रविधिमा नवप्रवर्तनलाई प्रोत्साहन गरिनेछ । सामाजिक सञ्जाल र अनलाइन मिडियालाई आमजनताको चेतना अभिवृद्धिका निम्ति सदुपयोग गरिनेछ। सबै विद्यालय, प्रशासनिक भवन, सभाभवन, स्वास्थ्य चौकी, हुलाक कार्यालय र सेवाकेन्द्रमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउन पहल गरिनेछ । हुलाक सेवालाई आधुनिकीकरण गरी नागरिक सेवा संस्थाका रूपमा विकसित गर्न पहल गरिने छ।”

प्रकाशित: १४ कार्तिक २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...