
काठमाडौं ।
भारतको सबैभन्दा ठूलो इलेक्ट्रिक दुई पाङ्ग्रे सवारी कम्पनीहरू मध्ये एक ओला इलेक्ट्रिकले आगामी वर्षहरूमा विद्युतीय स्कुटरको उत्पादनसँगै माग पूरा गर्न आफ्नो कारखानाको क्षमता बढाउने योजनामा छ।
कम्पनीको हालको उत्पादन दैनिक १,००० भन्दा बढी विद्युतीय स्कुटर छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत भाविश अग्रवालले तमिलनाडुको कृष्णगिरीमा रहेको कम्पनीको कारखाना विस्तार गरिने बताए। ‘अबको छ–आठ महिनामा विद्यमान क्षमता पूरा हुने विश्वास छ,’ उनले भने।
ओला इलेक्ट्रिकले गत वर्ष यस क्षेत्रमा प्रवेश गरेदेखि एक लाखभन्दा बढी युनिट बिक्री गरेको उनले बताए। कम्पनीको हालको क्षमता वार्षिक २० लाख युनिट छ। यो कारखाना सम्पन्न भएपछि वार्षिक एक करोड युनिट हुनेछ।
यसका साथै कम्पनीले विद्युतीय मोटरसाइकल जस्ता नयाँ उत्पादनको अवधारणामा काम गरिरहेको छ।
अग्रवालले भने, “हामी केही नयाँ कन्सेप्टमा काम गरिरहेका छौं। म मोटरसाइकल सेग्मेन्टलाई लिएर निकै उत्साहित छु र तपाईले यो आगामी वर्षमा केही ठूलो भएको देख्नुहुनेछ।”
गत हप्ता, ओला इलेक्ट्रिकले एक किफायती इलेक्ट्रिक स्कुटर ओला एस १ एयर लन्च गर्यो। यसको मूल्य कम्पनीको पहिले नै रहेको ओला एस १ रओला एस १ प्रो भन्दा कम राखिएको छ। ओला एस १ एयरको ब्याट्री क्षमता २.५ किलोवाट आवर छ र टप स्पीड ८५ किमी प्रतिघण्टा छ। कम्पनीले विद्युतीय स्कुटरलाई अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने तयारी गरेको छ।
प्रकाशित: ८ कार्तिक २०७९, मंगलवार