नेपाल टेलिकमले ल्यायो ग्रुप एसएमएस सुविधा, एकैपटक १० हजार नम्बरमा सन्देश पठाउन सकिने

  • Technology Khabar | ७ कार्तिक २०७९, सोमबार
नेपाल टेलिकमले ल्यायो ग्रुप एसएमएस सुविधा, एकैपटक १० हजार नम्बरमा सन्देश पठाउन सकिने

काठमाडौं ।

नेपाल टेलिकमले कम्पनीका ग्राहकहरुले आफ्नो मोबाइल नम्बरबाट एकै पटक धेरै व्यक्तिहरुलाई सामूहिक सन्देश (ग्रुप एसएमएस) पठाउन सकिने सेवा भोलि कात्तिक ८ गतेदेखि सञ्चालनमा ल्याउने भएको छ।

यो सेवा कात्तिक ८ गतेदेखि कात्तिक २१ गतेसम्म प्रयोग गर्न सकिने छ।

अफर अन्तर्गत २ हजार, ५ हजार र १० हजार ओटा मोबाइल नम्बरमा एकैपटक सन्देश पठाउन सकिने सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा उपलब्ध हुनेछ । प्रति सन्देश मात्र ५० पैसामा पठाउन सकिने यस प्याकमा २ हजार एसएमएस २ दिनभित्र पठाउन जम्मा रु.१००० मात्र लाग्नेछ ।

त्यसैगरी रु. २,५०० मा ५ दिन भित्रमा ५ हजार एसएमएस पठाउन सकिने प्याक र रु.५ हजारमा १० दिन भित्रमा १०,००० एसएमएस पठाउन सकिने प्याक उपलब्ध हुनेछ। कम्पनीको नेटवर्कभित्र मात्र प्रयोग गर्न सकिने यो सुविधामा लाग्ने दस्तुरमा कुनैपनि कर समावेश नगरिएको टेलिकमले जनाएको छ।

यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको नाममा रहेको कम्पनीको सिमकार्ड प्रयोग गर्नुपर्नेछ र प्रेषित सन्देशको शब्द तथा भाव लगायतका बारेमा पठाउने व्यक्ति स्वयं पूर्ण जिम्मेवार हुनुपर्ने कम्पनीले स्पष्ट पारेको छ।

यो सेवा प्रयोग गर्नका लागि groupsms.ntc.net.np लगइन गरी प्याकेज खरिद गर्न सकिने छ । ग्राहकले आफ्नो मोबाइलबाट सामूहिक सन्देश पठाउनको लागि आफ्नो कन्ट्याक्टमा भएका नम्बरहरु एक्सेल शीटमार्फत अपलोड गरी सन्देश पठाउन सकिने व्यवस्था गरिएको जारी विज्ञप्तीमा उल्लेख छ।

प्रकाशित: ७ कार्तिक २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार