
काठमाडौं ।
सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण हुने स्वास्थ्यसम्बन्धी भ्रामक विज्ञापन गर्नेलाई कारबाही हुने भएको छ। नेपाल मेडिकल काउन्सिलले त्यस्ता भ्रामक सूचना दिने स्वास्थ्य संस्थालाई कारबाही गर्ने तयारी गरेको छ।
काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारीले उपत्यका तथा उपत्यकाबाहिरका एफएम रेडियोमा स्वास्थ्यसम्बन्धी भ्रामक विज्ञापन फैलिरहेको भन्दै त्यसलाई नियमन गर्न लागिएको बताए।
एफएम, पत्रपत्रिका, सामाजिक सञ्जालमा यौन समस्या समाधान गरिने, लिङ्गको आकार सानो ठूलो बनाउने, स्तनको आकार ठूलो सानो बनाउनेजस्ता भ्रामक सूचना तथा विज्ञापन आइरहेका हुन्छन् ।
त्यस्ता सूचनाले जनतामा भ्रम फैलिएको र धेरै सर्वसाधारण ठगिएको भन्दै यसलाई नियमन गर्नुपर्ने उनले बताए। त्यस्ता भ्रामक विज्ञापनलाई निरुत्साहन गर्न लागिएको जानकारी दिँदै उनले गलत सूचना तथा विज्ञापनले समाजमा नकारात्मक विषय फैलिने बताए। स्वास्थ्यसम्बन्धी भ्रामक विज्ञापनले समग्र स्वास्थ्य क्षेत्रको बदनाम भइरहेको डा. अधिकारीको भनाइ छ । त्यस्ता विज्ञापन गर्नेमा बढी स्वास्थ्य क्लिनिक, औषधि पसल, अस्पतालहरू रहेका छन् ।
“कुनै पनि डाक्टरको सेवालाई दिन तोकेर, अनुभवीको सङ्ख्या दिँदै विज्ञापन गर्न पाइँदैन,” डा. अधिकारीले भने, “समाजमा नकारात्मक विषय फैलाउने विज्ञापन तथा सूचनालाई रोक्नैपर्छ।”
स्वास्थ्यसम्बन्धी कुनै पनि विज्ञापन गर्नका लागि काउन्सिलको अनुमति लिनुपर्ने व्यवस्था गर्न लागेको जानकारी उनले दिए। रेडियोमा बज्ने ५० प्रतिशत विज्ञापनमा कुन बेला कहाँ बिरामी परीक्षण गर्ने, त्यो डाक्टरले कस्तो सेवा दिनेलगायतका डाक्टरका विज्ञापन हुने गरेकाले त्यसलाई निरुत्साहन गरिनुपर्ने प्रवक्ता डा. अधिकारीले बताए ।
डाक्टरले बिदा बसेको समय र सेवा सुचारु हुँदा मात्र विज्ञापन गर्न पाउने उनको भनाइ छ । पत्रपत्रिकामा जाँड रक्सी छुटाउने, कोठी हटाउने, कपालको प्रत्यारोपण गर्नेलगायतका विज्ञापन गर्न नपाइने उनको भनाइ छ।गोरखापत्रबाट
प्रकाशित: ४ कार्तिक २०७९, शुक्रबार