‘इन्टरनेट कन्टेन्ट’मा पनि क्लीन फिड छिट्टै लागू हुने

  • Technology Khabar | ३ कार्तिक २०७९, बिहीबार
‘इन्टरनेट कन्टेन्ट’मा पनि क्लीन फिड छिट्टै लागू हुने

काठमाडौं ।

क्लीन फिड नीति अब ‘इन्टरनेट कन्टेन्ट’मा पनि लागु हुने भएको छ।
सामाजिक सञ्जालमा गरिने जथाभावी विज्ञापनलाई नियमन गर्नु आवश्यक भएकाले इन्टरनेट सेवा प्रदायकहरू (‘इन्टरनेट कन्टेन्ट’) मा पनि लागू गरिने नेपाल बिज्ञापन बोर्डले जनाएको छ।

नेपालका स्थापित बैंक तथा वित्तीय संस्था, बिमा कम्पनीहरू, उत्पादनमूलक कम्पनीहरूले फेसबुकमा विज्ञापन ‘बुस्ट’ गराइरहेकाले क्लीन फिड नीति लागू गर्न थालिएको हो।

स्वयं सञ्चार माध्यमहरूले पनि आफ्ना कन्टेन्टलाई फेसबुकमा बुस्ट गराउनेहरूको सूची धेरै भएकाले फेसबुकलगायत सामाजिक सञ्जालका विभिन्न स्वरूपहरू आधिकारिक रूपमा नेपालमा दर्ता नभएकाले त्यहाँ हुने विज्ञापनका लागि नेपालले कर पनि प्राप्त गर्ने अवस्था नदेखिएकाले राजस्व संकलनका लागि इन्टरनेट कनेक्सनमा पनि क्लीन फिड नीति लागूको तयारी भएकाले छिट्टै कार्यान्वयन हुने बोर्डको भनाई छ।

इन्टरनेटको प्रचुर प्रयोगले पछिल्लो समय विज्ञापन गर्ने शैली, तरिका र आयाम फेरिएको छ। आफ्ना कन्टेन्ट/विज्ञापनहरूलाई बुस्ट गराउँदा नेपालबाट औपचारिक रूपमा विदेशी मुद्रा बाहिर गइरहेको छ।
विज्ञापनवापतको ठूलो रकम भुक्तानी गर्न हुन्डीको कारोबार बढ्दै गएकाले औपचारिक अर्थतन्त्रको उपहास भएकाले, कानून ल्याउन थालिएको विज्ञापन बोर्डले जनाएको हो।

२०७७ कात्तिक ७ गतेदेखि नेपालमा पनि विदेशी च्यानलहरू विज्ञापनरहित (क्लीन फिड) रूपमा प्रसारण हुन थालेका छन्।
मुलुकभरका साढे तीन सयभन्दा बढी केबल व्यवसायीहरूले क्लीन फिड लागू गरेका छन्। नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लीन फिड लागू नहुँदा मुलुकलाई आर्थिक र सांस्कृतिक रूपले क्षति पुगेको भनेर लामो समयदेखि आवाज उठ्दै आएको थियो।

क्लीन फिड लागू भएसँगै नेपालको विज्ञापन बजार विस्तारित हुने अनुमान धेरैको छ। सामान्य अवस्थामा हाल नेपालको विज्ञापन बजार करिब ११ अर्ब रुपैयाँ हाराहारी भएको अनुमान छ।

त्यसमध्ये दुईतिहाइ बढी हिस्सा बहुराष्ट्रिय कम्पनीको छ। कुल विज्ञापनमध्ये करिब २५ देखि ३० प्रतिशत हिस्सा टेलिभिजनको रहेको अनुमान छ।
त्यसैका आधारमा नेपाल विज्ञापन संघले क्लीन फिड लागू गर्ने पक्षमा वकालत गर्दै आएको थियो। त्यसैको परिणाम सरकारले ‘विज्ञापन (नियमन गर्ने) ऐन, २०७६’ कार्यान्वयन गर्ने निर्णय गरेको हो।

क्लीन फिड नीति, २०७३ अनुसार २०७४ साउन १ देखि क्लीन फिड लागू गर्न सरकार अग्रसर हुँदा विभिन्न क्षेत्रले विरोध गरेपछि ऐन बनाएर क्लीन फिडका पक्षमा निर्णय गरिएको हो। ऐनको दफा ६ मा क्लीन फिडसम्बन्धी व्यवस्था छ र विदेशी टेलिभिजन च्यानलहरूले नेपालमा प्रसारण गर्दा क्लीन फिड मात्र होइन विदेशी विज्ञापनलाई नेपालका सञ्चार माध्यमले प्रसारण गर्दा डबिङ गरी प्रसारण गर्नसमेत नपाउने व्यवस्था गरेको छ।

निःशुल्क टेलिभिजन च्यानलहरूले विज्ञापनसहित कन्टेन्ट प्रसारण गर्छन् भने दर्शकबाट शुल्क लिने च्यानलहरूले आफ्नो कन्टेन्ट मात्र दिनुपर्ने हुन्छ। अर्थात दर्शकबाट शुल्क लिएर विज्ञापनविहीन सामग्री मात्र प्रसारण गर्ने टेलिभिजन च्यानल ‘क्लीन फिड’ हो।

यो अब इन्टरनेटमा समेत लागू हुँदा नेपालमा आर्थिक विकासको बाटो केही रुपमा बलियो हुने अपेक्षा समेत गरिएको छ।

प्रकाशित: ३ कार्तिक २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार