
काठमाडौं ।
कैलालीको धनगढी उपमहानगरपालिका–५ जाइँका १६ वर्षीय सोहन कैनीले विद्युतीय मोटरसाइकल निर्माण गरेका छन्।
धनगढीको ऐश्वर्य विद्या निकेतनस्थित ११ कक्षामा अध्ययनरत उनले दुई महिना समय लगाएर विद्युतीय मोटरसाइकल निर्माण गरेका हुन् । डेढ लाख रुपियाँ लागतमा आफूले इलेक्ट्रिक मोटरसाइकल निर्माण गरेको कैनीले बताए ।
‘‘यस्ता नयाँ–नयाँ प्रविधिको आविष्कार गर्ने चाहना भएकाले मैले इलेक्ट्रिक मोटरसाइकल बनाएको हुँ’, उनले भने, ‘‘मोटरसाइकलमा पावर ब्याङ्कको सहयोगबाट फिङ्गर प्रिन्ट पनि राखिएको छ ।’’
उनले बनाएको मोटरसाइकल चलाउनका लागि फिङ्गर प्रिन्ट र चाबी दुवै आवश्यक पर्ने छ । मोटरसाइकलमा १२ भोल्टेजका चार वटा ब्याट्री राखिएका छन् । ब्याट्री पूर्ण चार्ज भएमा ६० देखि ७० किलोमिटरसम्म मोटरसाइकल चल्ने कैनीले जनाए। युट्युबमा भिडियो हेरेर आफू इलेक्ट्रिक मोटरसाइकल बनाउनका लागि प्रेरित भएको उनको भनाइ छ।
कैनीले बनाएको इलेक्ट्रिक मोटरसाइकल सोमबार धनगढी उपमहानगरपालिकाको कार्यालयमा प्रदर्शन गरिएको छ। नगर प्रमुख गोपाल हमालले विद्युतीय मोटरसाइकल बनाएकोप्रति खुसी व्यक्त गर्दै कैनीलाई बधाई ज्ञापन गरे।
प्रकाशित: २ कार्तिक २०७९, बुधबार