काठमाडौं ।
बैतडी जिल्ला स्थित अन्तर्राष्ट्रिय सीमा नाका झुलाघाटमा पहिलो पटक इन्टरनेटको पहुँच पुगेको छ। भारतसँग सीमा जोडिएको झुलाघाटमा इन्टरनेटको पहुँच पुगेपछि झुलाघाट भन्सार कार्यालय, प्रहरी चौकी, सशस्त्र प्रहरी बल नेपाल, झुलाघाट स्वास्थ्य चौकी र स्थानीय व्यापारीलाई सहज भएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले अन्तर्राष्ट्रिय कनेक्टिभिटीका लागि सीमा नाका झुलाघाटमा सोमबार इन्टरनेट विस्तार गरेको नेपाल टेलिकम बैतडीका प्रमुख विक्रमराम टमटाले जानकारी दिए। इन्टरनेटको पहुँचबाट टाढा रहेको सीमा नाका झुलाघाटमा यसअघि भारतीय सीमा प्रयोग गरेर इन्टरनेट प्रयोग गर्नुपर्ने बाध्यता रहेको थियो ।
नेपाल टेलिकमको इन्टरनेटको पहुँच पुगेपछि निकै खुसी लागेको स्थानीय रघुवीरसिंह थापाले बताए।
अन्तर्राष्ट्रिय सीमा नाकामा इन्टरनेट जडानका लागि आवश्यक पहलकदमीपछि इन्टरनेट जडान भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए। प्रमुख जिल्ला अधिकारीले भने, “झुलाघाटमा इन्टरनेट जडानका लागि प्रशासन कार्यालयलाई पटक–पटक लिखित र मौखिक गुनासो आउने गरेको थियो । इन्टरनेट जडानपछि झुलाघाट क्षेत्रमा रहेका सरकरी कार्यालयलाई सेवा प्रवाह गर्न सहज भएको छ।”
यसैबीच बर्सातका कारण बैतडीको तल्लोस्वराड क्षेत्रमा अवरुद्ध भएको नेपाल टेलिकमको सेवा सुचारु गर्न सोमबार धनगढीबाट प्राविधिक टोली बैतडी आइपुगेको नेपाल टेलिकम बैतडीले जनाएको छ।
बैतडीको तल्लोस्वराड क्षेत्रमा नेपाल टेलिकमको सेवा अवरुद्ध भएपछि यहाँका अधिकांश मानिसले भारतीय सीमा प्रयोग गर्न बाध्य भएको पञ्चेश्वरका स्थानीय लोकेन्द्र घटालले जानकारी दिए।
प्रकाशित: २ कार्तिक २०७९, बुधबार