इन्टरनेट प्रविधिमा सुदूरपश्चिम सरकारको ‘हेलो सीएम’

  • Technology Khabar | २ कार्तिक २०७९, बुधबार
इन्टरनेट प्रविधिमा सुदूरपश्चिम सरकारको ‘हेलो सीएम’
सांकेतिक तस्विर

काठमाडौं ।

सुदूरपश्चिम सरकारले नागरिकका गुनासा सुन्न टेलिफोनको प्रयोग गर्दै आएकामा अबदेखि सामाजिक सञ्जाल, इमेल, एसएमएसमार्फत पनि आफ्ना गुनासा टिपाउन सक्ने भएका छन्। सुदूरपश्चिम सरकारले नागरिकका गुनासा सुन्न ‘हेलो सीएम’ सञ्चालनमा ल्याएको थियो।

नागरिकले आफ्नो गुनासा टिपाउन अब चिठीपत्र, एसएमएस, अनलाइन वेबसाइट, फेसबुक, ट्विटरमार्फत समेत सक्नेछन्। कार्यक्रमका प्रमुख नवराज ओझाले ‘हेलो सीएम’ सेवालाई सबैको पहुँचमा पुर्याउन सबैखाले माध्यमको प्रयोग गरिएको बताए। जनताका गुनासा सिधै सरकारसँग पुर्याउन तीन वर्षअघि ‘हेलो सीएम’ सञ्चालनमा ल्याइएको थियो।

मुख्यमन्त्री त्रिलोचन भट्टले भने, “जनताका सुझाव–सल्लाह, गुनासा तथा समस्या सम्बोधन गर्न सुरु गरिएको सेवालाई युग सुहाउँदो गरी परिस्कृत गरिएको छ।”

उनले नागरिकको गुनासो सुन्ने व्यवस्थालाई प्रदेश सरकारका विषयगत सबै मन्त्रालय, पालिका र सङ्घीय सरकारसँग जोड्न पनि निर्देशन दिए।

वेबसाइटको लिङ्क हेलो सीएम डट सुदूरपश्चिम डट जीओभी डट एनपीमार्फत गुनासो दर्ता गर्न सकिने जनाइएको छ।

यसरी टिपाइएका गुनासो अपलोड भएको चार घण्टाभित्रै सम्बोधन गर्ने गरेर कर्मचारी खटाइएको जानकारी दिँदै सुदूरपश्चिम प्रदेश प्रमुख सचिव नारायणप्रसाद शर्मा दुवाडीले विषयगत सबै मन्त्रालयमा चौबीसै घण्टा खुल्ला रहने गरी दुई जना कर्मचारी व्यवस्था मिलाइएको जानकारी दिए। गोरखापत्रबाट

प्रकाशित: २ कार्तिक २०७९, बुधबार

तपाइको प्रतिक्रिया