
काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग पूर्व प्रधानमन्त्री के.पी. शर्मा ओलीले सामाजिक सञ्जालबाट “लाईभ डिबेट” गर्न ईच्छुक रहेको जनाएका छन्।
पछिल्लो समय सामाजिक सञ्जालमा सक्रिय देखिएका पूर्व प्रधानमन्त्री ओलीले फेसबुक एकाउन्टमा “लाईभ डिबेट” गर्न इच्छुक रहेको उल्लेख गरेका हुन्।
उनले फेसबुकमा पोष्ट गरेका छन्,“सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले “लाईभ डिबेट”मा आउन आग्रह गर्नुभएको छ। धेरैजसोले मेरो र नेकाका सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनु भएको छ। निर्वाचनको समयमा पश्चिमा देशहरुमा यस्तो डिबेट हुने गरेको छ। म त यसका लागि तयार छु, देउवाजी नि?”
पछिल्लो समय ओलीले इन्स्टाग्राम प्रोफाइल समेत खोलेका छन्। उनले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत इन्स्टाग्राम प्रोफाइल समेत सेयर गरेका हुन्।
ओलीले इन्स्टाग्राममा नवौं राष्ट्रिय खेलकुदको शुभकामना दिँदै पहिलो तस्बिरसमेत शेयर गरेको उनको फेसबुकमा उल्लेख छ।
यसअघि आफू प्रधानमन्त्री हुँदा ओलीले टिकटक एकाउन्ट पनि संचालनमा ल्याएका थिए।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा पछिल्लो समय नेताहरु सामाजिक सञ्जाल केन्द्रित हुन थालेका छन्।
प्रकाशित: १ कार्तिक २०७९, मंगलवार