
काठमाडौं ।
यातायात व्यवस्था विभागले सवारी चालक अनुमति ड्राइभिङ लाइसेन्सका लागि थप स्मार्ट कार्ड खरिद गर्ने भएको छ। विभागले स्मार्ट कार्ड खरिदका लागि आइतबार अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको हो।
विभागले गत वर्ष खरिद गरेको १४ लाख स्मार्ट कार्डको मौज्दात सकिँदा लाग्दा नयाँ स्मार्ट कार्ड खरिदका लागि टेन्डर आह्वान गरेको हो। यी स्मार्ट कार्ड भारतको मद्रास सेक्युरिटी प्रिन्टर्सले आपूर्ति गरेको थियो।
विभागका सहायक सूचना अधिकारी अर्जुन अधिकारीका अनुसार विभागसँग स्मार्ट कार्डको मौज्दात कम भएकाले नयाँ स्मार्टकार्ड खरिद गर्न टेन्डर आह्वान गरिएको हो।
हाल विभागसँग करिब ४ लाख स्मार्ट कार्ड मौज्दात छ।
‘बाँकी कार्डले ३, ४ महिनाको माग मात्र धान्ने अवस्था छ,’ अधिकारीले भने, ‘स्मार्टको अभाव हुन नदिन नयाँ खरिद प्रक्रिया अघि बढाएको हो।’
हाल दैनिक ६ देखि ७ हजार ड्राइभिङ लाइसेन्सको माग रहँदै आएकोमा विभागले ३ देखि ४ हजार लाइसेन्स मात्र छाप्दै आइरहेको छ।
अबको तीन महिनामा भित्रमा खरिद प्रक्रिया सम्पन्न गर्ने विभागको योजना छ।
उनले विभागले खरिद गर्न चाहेको स्मार्ट कार्डको संख्या भने उल्लेख गरेनन्। सूचना प्रकाशित भएसँगै खरिद प्रक्रिया शुरु भएकाले लागत अनुमान र कार्ड संख्या गोप्य नै राख्नु पर्ने हुन्छ। गोप्य राख्नु नपर्ने भए सूचनामै कार्ड संख्या र लागत अनुमान प्रकाशित हुने थियो।
‘आपूर्तिकर्ताले प्रस्ताव गर्ने मूल्यका आधारमा स्मार्ट कार्डको संख्यामा फरक पर्नेछ। विभागले अनुमान गरेको रकम भन्दा कममा प्रस्ताव पेश भयो भने धेरै खरिद गर्न सकिन्छ,’ उनले भने, ‘महँगो पर्यो भने थोरै कार्ड खरिद हुन्छ।’
बिड सेक्यूरिट अनुमानको आधारमा आपूर्तिकर्ताले अनुमान गरेर ठेक्का प्रस्ताव गर्नेछन्। ठेक्कामा सहभागी आपूर्तिकर्ताहरुले सेक्युरिटीका लागि ६५ लाख ६४ हजार रुपैयाँ (५० हजार अमेरिकी डलर) राख्नुपर्ने हुन्छ।
विभागको सूचना अनुसार आपूर्तिकर्ताले मंसिर ३० गतेभित्र आवेदन बुझाउनु पर्नेछ।
विभागले बोलपत्र कागजात, व्यापारिक पक्ष, योग्यता, प्राविधिक र आर्थिक पक्षका आधारमा मूल्यांकन गरी स्मार्ट कार्ड आपूर्तिका लागि कम्पनी छनोट गर्नेछ। ठेक्कामा सहभागी कम्पनीको स्मार्ट कार्ड डिजाइन स्वीकृत भएको तीन महिना भित्रमा विभागलाई आपूर्ति गर्नु पर्नेछ।
प्रकाशित: ३० आश्विन २०७९, आईतवार