घरबाटै नापीको सेवा लिन सकिने

  • Technology Khabar | ३० आश्विन २०७९, आईतवार
घरबाटै नापीको सेवा लिन सकिने

काठमाडौं ।

नापी कार्यालय रुकुमपश्चिममा भू–सूचना प्रणाली (नेलिस)मार्फत सेवा सुरु भएको छ । यो सेवा सुरु भएसँगै अब सेवाग्राहीले नापी कार्यालयको अधिकांश सेवा घरमै बसेर प्राप्त गर्नसक्ने नापी कार्यालयले जानकारी दिएको छ।

कार्यालयका सूचना अधिकारी तथा नापी सर्वेक्षक जगवीर विष्टले औपचारिक रूपमा नेलिस प्रणालीमार्फत सेवा प्रवाह सुरु गरिएको बताए ।

नापी विभागले ५१औँ कार्यालयका रूपमा नापी कार्यालय रुकुमपश्चिममा उक्त सेवा सुरु गरेको हो । यो सेवाको ‘डब्लूडब्लूडब्लू डट मेरोकित्ता डट डीओएस डट जीओभी डट एनपी’ मा गएर निवेदन दिन सकिने सूचना अधिकारी विष्टले जानकारी दिए।

मेरो कित्ता वेब पेजमार्फत निवेदन दिएर अनलाइनबाटै कित्ताकाट, नक्सा प्रिन्ट, प्लट रजिस्टर उतार, फिल्डबुक उतार, जग्गा नापजाँचका लागि रेखाङ्कनको निवेदनलगायतका सेवा घरबाटै लिन सकिने नापी कार्यालयले जनाएको छ । यो प्रणालीमार्फत बैङ्क तथा वित्तीय संस्थाहरू, सेवाग्राही सबैले अनलाइनबाटै सेवा लिन सक्नेछन् । नापी विभागबाट प्रतिनिधि आएर आन्तरिक तालिम सञ्चालन गरी यो सेवा सुरु गरिएको कार्यालयले जनाएको छ।

विभागीय प्रतिनिधि तथा नापी सर्वेक्षक दिनेश खत्रीले यो प्रणालीमार्फत सेवा सुरु भएपछि कार्यालयको कामलाई सीधै विभागबाट अनुगमन गर्नसकिने बताए। अनलाइनबाटै सबै सेवा प्रदान हुने भएकाले भौतिक रूपमा कार्यालयमा उपस्थित हुन नपर्ने, सेवाग्राहीको फजुल खर्च नहुने, कार्यालयमा भीडभाडको अवस्था नआउने भएकाले यो सेवा प्रभावकारी रहेको उनले बताए। चालू आर्थिक वर्षको पहिलो सेवा रुकुमपश्चिमको नापी कार्यालयबाट सुरु गरिए पनि यो ५१औँ कार्यालय रहेको जानकारी खत्रीले दिए।

केन्द्रीय एकीकृत सरकारी सूचना केन्द्रसँग इन्टरनेटमार्फत कनेक्सन हुने भएकाले यो सेवा थप भरपर्दो रहेको छ । मेरो कित्तामा सेवाग्राहीले कामको राजस्व तिरेको रसिद अथवा भौचर अपलोड गरेको चार घण्टाभित्रै अनलाइनबाटै सेवा दिने प्रावधान रहेकोसमेत विभागीय प्रतिनिधि तथा सर्वेक्षक खत्रीले बताए। गोरखापत्रबाट

प्रकाशित: ३० आश्विन २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दू्र चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • ३० आश्विन २०७९, आईतवार