
काठमाडौं ।
एप्पल आफ्ना ग्राहकहरूलाई थप बैंकिङ सेवाहरू प्रदान गर्ने तर्फ अग्रसर भएको छ।
एप्पलले आफ्नो बैंक साझेदार गोल्डम्यान साक्ससँग मिलेर बचत खाताको सुविधा विकास गरेको छ। एप्पलले नयाँ बचत खाताको ब्याजदर उल्लेख नगरेपनि उच्च हुने दाबी गरेको छ।
एप्पलले कार्ड क्रेडिट प्रयोगकर्ताहरुलाई आफ्नो ‘डेली नगद’ बचत गर्न र बढाउन अनुमति दिनेछ। यो सुविधा एप्पल कार्ड प्रयोगगरी खरिद गर्दा कमाइएको क्यासब्याकमा पनि लागु हुनेछ।
आगामी महिनाहरुमा कार्ड प्रयोगकर्ताहरुले आफ्नो नगद स्वचालित रुपमा नयाँ, उच्च ब्यादर युक्त बचत खाता साझेदार गोल्डम्यान साक्समा बचत गर्न सक्षम हुने एप्पलले भनेको टेकक्रन्चले उल्लेख गरेको छ। यो सुविधा एप्पल वालेट मार्फत् गर्न सकिन्छ।
खाताका लागि कुनै शुल्क लाग्दैन र न्यूनतम निक्षेप र न्यूनतम ब्यालेन्सको खाँचो छैन। एप्पलले यस खातालाई विभिन्न प्रकार नियोबैंकहरु जस्तै भएको बताएको छ। तिनीहरुले ग्राहकलाई आफ्नो डिजिटल नगद पार्क गर्न र ब्याज भुक्तानी मार्फत पैसा कमाउनको लागि प्रयोग गरिन्छ।
हाल प्रतिस्पर्धी कम्पनीहरुले वार्षिक २.२० प्रतिशत देखि ३.०५ प्रतिशत ब्याज प्रस्ताव गरिरहेका छन्।
एप्पलको नयाँ प्रस्ताव शुरु भएपछि एप्पल कार्ड प्रयोगकर्ताहरुले आफ्नो बचत खाता एप्पल वालेटबाट व्यवस्थापन गर्न सक्षम हुनेछन्।
प्रकाशित: ३० आश्विन २०७९, आईतवार