
काठमाडौं ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले महँगा स्मार्टफोन आयात प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको छ।
सरकारले यस अघि ३०० अमेरिकी डलरभन्दा महँगो स्मार्टफोनको आयातमा लगाउँदै आएको प्रतिबन्धलाई निरन्तरता दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिफारिस गरेको हो।
अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिती माथिको दबाव कायमै रहेको राय दिएपछि मन्त्रालयले प्रतिबन्धलाई मंसिर मसान्तसम्म लम्ब्याउन मन्त्रिपरिषद्मा सिफारिस गरेको हो।
आयात प्रतिबन्धको सम्बन्धमा मन्त्रिपरिषद्ले आजै निर्णय गर्ने मन्त्रालय स्रोतले टेक्नोलोजीखबरलाई जानकारी दिएका छन्।
सरकारले विदेशी मुद्राको सञ्चिती घट्दै गएको भन्दै गत वैशाखमा १० प्रकारका वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो।
गत भदौंमा ६ प्रकारका वस्तुको प्रतिबन्ध फुकुवा गरिए पनि गाडी, मदिरा, १५० सीसी क्षमता भन्दा माथिका मोटरसाइकल र ३०० अमेरिकी डलरभन्दा महँगो मोबाइलको आयात भने यथावत राखेको थियो।
यी वस्तुको आयात माथिको प्रतिबन्ध आज शुक्रबार असोज २८ गतेसम्म रहेको छ। उक्त प्रतिबन्धलाई मंसिर मसान्तसम्म कायम गर्न मन्त्रालयले सिफारिस गरेको छ। यस विषयमा आज बस्ने मन्त्रिपरिषद्ले निर्णय गर्नेछ।
प्रकाशित: २८ आश्विन २०७९, शुक्रबार