
काठमाडौं ।
अमेरिकाका एकजना दक्षिणपन्थी रेडियो प्रस्तोता एलेक्स जोन्सले मिथ्या सूचना फैलाएको अभियोगमा करिब १ अर्ब अमेरिकी डलर जरिवाना तिर्नु परेको छ।
सन् २०१२ मा भएको स्यान्डी हुक स्कूल गोलीकाण्ड झुट्टा थियो भनेर मिथ्या दाबी गरेका अभियोगमा अदालतले दोषी करार गर्र्दै ९६५ मिलियन अमेरिकी डलर जरिवाना सजाय तोकेको बीबीसीले जनाएको छ।
उक्त गोलीकाण्डका ८ पीडितका परिवारहरूले कनेटिकट राज्यमा भएको मानहानी मुद्दाका दौरान ती रेडियो प्रस्तोताका झुट्टा दाबीहरूले एक दशकसम्म आफूहरूलाई मार्ने धम्की तथा अन्य प्रताडना आइपरेको बताएका थिए।
सन् २०१२ मा भएको गोलीकाण्डको वर्षौँसम्म पनि जोन्सले उक्त हत्याकाण्ड वास्तवमा सरकारले नै बन्दूकसम्बन्धी कानुन कडा बनाउन मञ्चन गरेको नाटक भन्ने गरेको आरोप लागेको थियो।
उनीविरुद्ध मुद्दा हालेकामध्ये १ जना रोबी पार्करले उक्त मुद्दाले उनलाई आफ्नो आवाज राख्न सघाएको तथा जोन्सको मिथ्या सूचनाविरुद्ध लड्न सघाएको टिप्पणी गरेका छन्।
अदालतको आदेशविरुद्ध जोन्सले पुनरावेदन गर्ने जनाएका छन्।
स्यान्डी हुक इलेमेन्टरी स्कूलमा भएको घटनामा २० बालबालिका तथा ६ जना वयस्कको मृत्यु भएको थियो।
प्रकाशित: २८ आश्विन २०७९, शुक्रबार