काठमाडौं ।
देशमा हुने आपतकालीन अवस्थाको सूचना मोबाइलबाट पाउनुपर्ने माग जोग्राफि इन्फरमेसन सिस्टम सोसाइटी (जीआईएस)ले जनाएको छ।
ललितपुरको जावलाखेलमा रहेको संस्थाले दशैंको बेला आएको बाढी पहिरोसँगै लगातारको वर्षाले सर्वसाधारणलाई समस्या परेकाले मौसम पूर्वानुमान महाशाखा लगायतका सरकारी संस्थाले आपतकालिन अवस्थाको पूर्व जानकारी दिनुपर्ने माग राखेका हुन्।
वर्षा, बाढी पहिरो, प्राकृतिक आगलागी, भुकम्प, लागायतका पूर्व सूचनाहरू तत्काल मोबाइलबाट दिनुपर्ने माग राखेको जीआईएसका सदस्य माधव अधिकारीले बताए।
टेक्नोलोजीखबरसँग कुरा गर्दै उनले भने,“सबै गाउँपालिका एवं वडासँगको सहभागितामा सम्बन्धित केन्द्रीय कार्यालयले सूचना प्रवाह गर्नुपर्ने माग मौसम विभाग, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, भुकम्पिय मापन केन्द्र, प्रधानमन्त्री कार्यालय लगायत सरकारी निकायमा माग राखेका हौं।”
“अहिले निर्वाचन आउँदै गरेकाले अधिकांश सर्वसाधारण मतदानको लागि गाउँफर्क अभियानमा हुने भएकाले दशैंको जस्तो समस्या भोग्न नपरोस् र अभियान लिन निर्वाचन आयोगलाई समेत जानकारी गराएका छौं।” जीआईएस सदस्य अधिकारीले भने।
वि.स. २०७२ सालमा भएको ठूलो भूकम्प, अहिलेसम्म कम्पन हुने क्षेत्र, जलवायु परिवर्तनसँगै प्राकृतिक प्रकोपबाट सचेत हुन सूचना जानकारीको माग राखेको जीईएसले जनाएको छ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय भूगोल विभागका प्राध्यापक डा. पुष्पा शर्माले जीआईएसको माग राम्रो भएको र सरकारले अभियान थाले सहयोगका लागि इसिमोडसँग कार्यान्वयन गर्न सकिने दाबी गरिन्।
उनले भनिन्,“यो भूतकालबाट सिक्दै वर्तमान र भविष्यका लागि प्राकृतिक जोखिमको पूर्व जानकारीका लागि पूर्व राजा दिपेन्द्र शाहले भूगोल विषयमा विद्यावारिधी गर्दै गर्दा बेलायत सरकारसँग सहयोग माग गर्नुभएको थियो, उहाँको निधनसँगै उहाँको विद्यावारिधी र त्यो अभियान अघि बढ्न नसक्नु दूर्भाग्य हो।”
युरोपियन देशहरु तथा अमेरिकामा आपतकालीन अवस्थाबाट हुन सक्ने प्राकृतिक समस्याहरुको बारेमा तत्काल जानकारी मोबाइलबाट दिने गरेको छ।
काठमाडौं उपत्यकामा पनि काठमाडौं महानगरपालिकाले ट्राफिक जामबारे जानकारी दिन एपको विकासमा लागेको बताइएको छ।
प्रकाशित: २८ आश्विन २०७९, शुक्रबार