
काठमाडौं ।
अपडेटः
लुम्बिनी प्रदेशस्थित सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठानका कार्यकारी निर्देशक अनुप बाँस्कोटाले सर्वोच्च अदालतमा दायर गरेको लुम्बिनी प्रदेश सरकार विरुद्धको उत्प्रेषण तथा अपहेलनाको मुद्दामा अन्तरिम आदेश पाएका छन्।
उनले अदालतको अपहेलना र उत्प्रेषण गरी दुई छुट्टाछुट्टै मुद्दा असोज २६ गते दायर गरेकोमा उत्प्रेषणको मुद्दामा अन्तरिम आदेश जारी भएको हो। यसका साथै अदालतले कारण देखाउ आदेशसमेत जारी गरेको छ।
यस्तै अर्को मुद्दामा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लुम्विनि प्रदेश मुकाम वुटवलसमेत अन्य विपक्षीहरुसँग लिखित जवाफ माग्ने आदेश जारी भएको हो।
……
लुम्बिनी प्रदेशस्थित सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठानका कार्यकारी निर्देशक अनुप बाँस्कोटाले लुम्बिनी प्रदेश सरकार विरुद्ध सर्वोच्च अदालतमा अपहेलनाको मुद्दा दायर गरेका छन्।
प्रतिष्ठानको कार्यकारी निर्देशक रहेका आईटी विज्ञ बाँस्कोटालाई लुम्बिनी प्रदेश मन्त्रिपरिषद्ले गत भदौ १६ गतेको सो पदबाट बर्खास्त गर्ने निर्णय गरेसँगै उनी अदालत पुगेका हुन्।
यस अघि पनि २०७८ मंसिर १६ गते लुम्बिनी प्रदेश सरकारले बाँस्कोटालाई पहिलो पटक बर्खास्त गरेको थियो। आफूलाई बदनियतपूर्वक प्रतिष्ठानबाट हटाएको भन्दै उनले त्यस समयमा २०७८ पुस ९ गते सर्वोच्चमा मुद्दा दायर गरेका थिए। सो मुद्दाको सुनुवाई गर्दै सर्वोच्चले प्रदेश सरकारको निर्णय विरुद्धमा अन्तरिम आदेश दिएको थियो। सो आदेशसँगै उनी पुनः पदबहाल भएका थिए। सोही आदेशसँगै बाँस्कोटा कार्यकारी निर्देशक पदमा कार्यरत थिए।
तर हाल उनलाई सोही सरकारले फेरि हटाउने निर्णय गरेको हो।
सोही निर्णयको विरुद्धमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लुम्बिनी प्रदेशलाई विपक्षी बनाई उनले अदालतको अपहेलना र उत्प्रेषण गरी दुई छुट्टाछुट्टै मुद्दा असोज २६ गते दायर गरेका हुन्।
उनले दायर गरेको मुद्दा आज (बिहीबार असोज २७ गते) सर्वोच्चका न्यायाधिश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा पेशी तोकिए पनि सुनुवाई हुन सकेन।
बाँस्कोटाले आफूलाई प्रदेश सरकारले बदनियतपूर्वक हटाएको र अदालतको आदेशको विरुद्धमा समेत निर्णय गरिएको टेक्नोलोजीखबरलाई बताए।
‘प्रदेश सरकारको निर्णय सर्वोच्च अदालतको यसअघिको आदेशको अपहेलना हो,’ बाँस्कोटाले भने, ‘यस्तो घटना फेरी पनि नहोस् भनेर पनि अदालत जानुपरेको हो।’
बाँस्कोटाले यसअघि राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कार्यकारी निर्देशकको रुपमा काम गरिसकेका छन्।
लुम्बिनी प्रदेशस्थित सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठान प्रदेशस्तरको एक मात्र सूचना प्रविधिको क्षेत्रमा काम गर्ने संस्था हो।
* समाचार अपडेट गरिएको- सम्पादक
प्रकाशित: २७ आश्विन २०७९, बिहीबार