सामाजिक सञ्जालमा समेत मत सर्वेक्षण गर्न नपाइने

  • Technology Khabar | २७ आश्विन २०७९, बिहीबार
सामाजिक सञ्जालमा समेत मत सर्वेक्षण गर्न नपाइने

काठमाडौं ।

निर्वाचन आयोगले सामाजिक सञ्जालको प्रयोग गरेर राजनीतिक दल र उम्मेदवारका सम्बन्धमा मत सर्वेक्षण गर्न रोक लगाएको छ। यसरी आचारसंहिता विपरीत कसैले मत सर्वेक्षण गरेमा तथा त्यसको नतिजा सार्वजनिक गरेमा कारबाही गर्ने चेतावनीसमेत दिएको छ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि निर्वाचन आचारसंहिता, २०७९ लागु भइरहेको सन्दर्भमा आचारसंहिता विपरीत कतिपय व्यक्तिहरूले सामाजिक सञ्जालको प्रयोग गरेर राजनीतिक दल र उम्मेदवारका सम्बन्धमा मत सर्वेक्षण गरेको तथा त्यसको नतिजा सार्वजनिक गरेको निर्वाचन आयोगको अनुगमनबाट पाइएको उल्लेख गरेको छ।

आचारसंहिताको दफा ४ को (थ) मा निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री शेयर गर्नसमेत नहुने व्यवस्था रहेको स्मरण गराएको छ ।

साथै निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ (त) मा मतदान सम्पन्न नभएसम्म कुनै मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नपाइने स्पष्ट उल्लेख गरिएको बताएको छ । उपरोक्त व्यवस्थाहरु विपरीत कोही कसैले कार्य गरेमा कानुन बमोजिम कारबाही हुने जनाएको छ।

प्रकाशित: २७ आश्विन २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार