काठमाडौं ।
पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एशिया च्याम्पियनशिप फल २०२२ आजदेखि शुरु हुने भएको छ। कुल १ लाख ५० हजार अमेरिकी डलर (बुधबारको विदेशी सटही मूद्राको आधारमा १ करोड ९८ लाख १ हजार ५०० रुपैयाँ) पुरस्कार राशीका लागि दक्षिण एशियाका १६ टिमले प्रतिस्पर्धा गर्नेछन्।
यस प्रतियोगितामा नेपाल र पाकिस्तानबाट ६/६ टिम र मंगोलियाबाट ४ टिम छनोट भएका छन्।
नेपालका ६ टिम र मंगोलियाका ४ टिम पीएमपीएल साउथ एशिया फल स्प्लिट र ६ पाकिस्तानी टिम पीएमपीएल पाकिस्तान फलबाट छनोट भएका हुन्।
प्रतियोगितमा सहभागी टिमहरुमा नेपालबाट हाई भोल्टेज, डीआरएस, इलिमेन्ट्रिक्स, स्काइलाइट गेमिङ, ट्रेन टु किल र भेनम लेजेन्ड छन्। विगतमा भेनम लेजेन्डले बंगलादेशको प्रतिनिधित्व गर्दै आएको थियो। यस पटकको पीएमपीएल साउथ एशिया फल स्प्लिटदेखि भने नेपाली खेलाडी सहभागी गराएर भेनम लेजेन्ड नेपाली टिम बनेको हो।
मंगोलियाबाट डीई वारियर्स, गडलाइक स्टलवार्ट, आईएचसी ईस्पोर्टस् र मावेटेक्स ईस्पोर्टस् छन्। डीई वारियर्सलाई नेपाली टिम डेडआई गाइजको व्यवस्थापनमा खेल्दै आइरहेको छ।
पाकिस्तानबाट एगोनएक्सआई८, टिम क्वेर्टी, क्वानटम रेज, टिम टीयूएफ, मंगुस ईस्पोर्टस्, आर३जीआईसीआईडीई रहेका छन्।
यस प्रतियोगिता १३ अक्टोबरदेखि १६ अक्टोबरसम्म ४ दिन सञ्चालनमा हुनेछ। प्रत्येक दिन ६ खेल गरी कुल २४ खेल खेलिनेछ। प्रतियोगिताको विजेताले ४० हजार अमेरिकी डलर, उपविजेताले २८ हजार अमेरिकी डलर र तेस्रो स्थानमा रहन सफल टिमले १८ हजार अमेरिकी डलर हात पार्नेछन्।
भने, चौथो स्थानमा रहनेले १० हजार अमेरिकी डलर, पाँचौले ७ हजार अमेरिकी डलर, छौटौं स्थानमा रहने टिमले ६ हजार अमेरिकी डलर प्राप्त गर्नेछन्।
७ औं र ८ औंले समान साढे ५ हजार अमेरिकी डलर प्राप्त गर्ने छन्।
९ औं देखि १२ स्थानमा रहेन टिमले पनि समान ४ हजार अमेरिकी डलर र १३ औं देखि १६ स्थानमा रहेन टिमले समान ३ हजार अमेरिकी डलर प्राप्त गर्नेछन्।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले व्यक्तिगत रुपमा २ हजार अमेरिकी डलर जित्ने छन्।
प्रकाशित: २७ आश्विन २०७९, बिहीबार