भारतमा सरकारी टेलिकम कम्पनी बीएसएनएलको फोरजी सेवा नोभेम्बरमा शुरु हुने

  • Technology Khabar | २३ आश्विन २०७९, आईतवार
भारतमा सरकारी टेलिकम कम्पनी बीएसएनएलको फोरजी सेवा नोभेम्बरमा शुरु हुने

काठमाडौं ।

भारतको सरकारी टेलिकम कम्पनी भारत संचार निगम लिमिटेड (बीएसएनएल)ले नोभेम्बरदेखि फोरजी नेटवर्क शुरु गर्ने तयारी गरेको छ। कम्पनीले आगामी अगस्टसम्ममा ५जी सेवा शुरु गर्ने योजना बनाएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत साता देशमा ५जी टेलिकम सेवाको शुरुवात गरेका थिए। भारती एयरटेलले आठ सहरमा फाइभजी सेवा शुरु गरेको छ।

बीएसएनएलका अध्यक्ष र प्रबन्ध निर्देशक पीके पुरवारले इन्डिया मोबाइल कांग्रेसको अवसरमा कम्पनीले १८ महिनामा लगभग १.२५ लाख ४जी मोबाइल साइटहरू सुरू गर्ने योजना बनाएको बताए। कम्पनीले टिसीएस र सरकारी फर्म सी-डिओटी नेतृत्वको कन्सोर्टियमसँग देशमा विकसित ४जी प्रविधि प्रयोग गर्न वार्ता गरिरहेको भारतीय मिडियाहरुले जनाएका छन्।

कम्पनीले फोरजीका लागि खरिद गर्ने उपकरण सफ्टवेयर अपग्रेडमार्फत फाइभजीका लागि प्रयोग गरिने पुरवारले बताए। फाइभजी सेवा सुरु गर्ने समयसीमाबारे सोध्दा पुरवारले दूरसञ्चार मन्त्री अश्विनी वैष्णवले यसका लागि अगस्ट १५ सम्मको समयसीमा दिएको समाचारमा उल्लेख छ।

उनले भने, “सबैलाई राम्रो सेवा दिन नेटवर्कमा लगानी गर्नुपर्छ। टेलिकम कम्पनीहरूसँग पर्याप्त स्रोतसाधन नभए नेटवर्कमा लगानी गर्न सक्दैनन्। यसले गर्दा धेरै मानिसहरुलाई नयाँ प्रविधिको फाइदा पुग्दैन।” उनले देशका दूरसञ्चार कम्पनीहरुको प्रति प्रयोगकर्ता औसत राजस्व (एआरपीयू) निकै न्यून रहेको र त्यसलाई कारोबार गर्न सकिन्छ कि सकिँदैन भन्ने हेर्नुपर्ने बताए।

५जी नेटवर्कले धेरै उच्च गतिमा डाटा पठाउन सक्छ। फाइभजी सेवाहरू ४जी भन्दा लगभग १० गुणा छिटो हुने सम्भावना छ। टेलिकम विभागले भर्खरै भएको स्पेक्ट्रम लिलामीमा करिब १.५० लाख करोडको कुल बोलपत्र प्राप्त गरेको थियो।

प्रकाशित: २३ आश्विन २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार