
काठमाडौं ।
तपाईं अन्तरिक्ष फोहोर भन्नाले के बुझ्नुहुन्छ? यसलाई अन्तरिक्ष भग्नावशेष पनि भनिन्छ, जुन क्षतिग्रस्त स्याटेलाइट (भूउपग्रह) हरूदेखि पेन्टको टुक्रासम्म अन्तरिक्षमा तैरिरहेको हुन्छ। जब यो अन्तरिक्ष फोहोरको कुरा आउँछ, अमेरिकाको नाम अगाडि आउँछ।
उता अमेरिका र यसको अन्तरिक्ष एजेन्सी नासाले चीनले आफ्नो अन्तरिक्ष कार्यक्रममार्फत अन्तरिक्ष फोहोर बढाएको आरोप लगाउँदै आएको छ। तर, तथ्याङ्कले स्पेस वेस्टको मामिलामा चीनभन्दा धेरै देश अगाडि रहेको देखाएको छ।
नासामा उपलब्ध डाटा प्रयोग गर्दै, जर्मन डाटाबेस कम्पनी स्टाटिस्टाले सबैभन्दा धेरै अन्तरिक्ष फोहोर उत्पादन गर्न जिम्मेवार देशहरूको सूची जारी गरेको छ।
तपाईको अनुमानअनुसार यो सूचीको शीर्षमा को हुन सक्छ? के अमेरिका? यस्तो होइन। सूचीको शीर्ष स्थानमा रुस रहेको छ। स्टाटिस्टाले ४ फेब्रुअरी, २०२२ को नासाको अर्बिटल डेब्रिस क्वार्टरली न्यूजको डाटालाई उद्धृत गर्दै यो रिपोर्ट गरेको हो। रुसका ७ हजारभन्दा बढी रकेट बडी फोहोरको रूपमा अन्तरिक्षमा घुमिरहेका छन्।
सूचीमा अमेरिका दोस्रो नम्बरमा छ। ५,२१६ टुक्रा अन्तरिक्ष फोहोरको साथ, अमेरिकाले अन्तरिक्षमा भग्नावशेष थुपारिरहेको छ। सूचीमा अमेरिकापछि छिमेकी देश चीन तेस्रो नम्बरमा छ। तेस्रो नम्बरमा रहेको चीनले ३ हजार ८ सय ४५ टुक्रा अन्तरिक्षमा छोडेको छ, जुन भविष्यको अन्तरिक्ष अभियानका लागि चुनौती बन्न सक्छ। जापान र फ्रान्स क्रमशः चौथो र पाँचौं नम्बरमा छन्। यी ५२० र ११७ टुक्रा भग्नावशेषले अन्तरिक्षको फोहोर बढाइरहेको छन्।
सूचीमा अर्को छिमेकी भारत पनि परेको छ। छैटौं स्थानमा रहेको भारतले त्यहाँ ११४ टुक्रा अन्तरिक्ष भग्नावशेषका रूपमा छोडेको छ। युरोपियन स्पेस एजेन्सी सूचीमा सातौं नम्बरमा छ। उसको मिशनका ६० टुक्रा फोहोरको रूपमा अन्तरिक्षमा तैरिरहेका छन्। सूचीमा बेलायत पनि परेको छ। आठौं स्थानमा रहेको बेलायतले आफ्नो मिसनका क्रममा एक टुक्रा भग्नावशेष अन्तरिक्षमा छोडेको छ।

बाह्य अन्तरिक्षमा फोहोर फ्याँक्नु ठूलो समस्या हुन सक्छ। यसका कारण भविष्यमा मिसनहरू प्रक्षेपण गर्दा, भग्नावशेषको रूपमा उपस्थित यी भग्नावशेषहरू हाम्रा भूउपग्रहहरूसँग ठोक्किएर क्षति पुर्याउन सक्छन्। अन्तरिक्ष एजेन्सीको कुनै एक मिसन पूरा भएपछि र एजेन्सीले त्यो भूउपग्रह वा अन्तरिक्ष यानलाई त्यस्तै छोड्दा स्पेस फोहोर उत्पन्न हुन्छ र ती अन्तरिक्षमा तैरिरहन्छन्।
प्रकाशित: १९ आश्विन २०७९, बुधबार