क्रिप्टोकरेन्सी इथेरियम मर्जको प्रकृयामा

  • Technology Khabar | १७ आश्विन २०७९, सोमबार

काठमाडौं ।

क्रिप्टोकरेन्सी इथेरियम मर्जमा पुगेको छ। द मर्ज नाम दिइएको यो परिवर्तनका लागि ८ वर्षको योजना अघि सारिएको बीबीसीले जनाएको छ।

एउटा ठूलो क्रिप्टोकरेन्सी कसरी वातावरणमैत्री बन्दैछ भन्ने प्रश्न समेत उठेको बीबीसी रिपोर्टमा उल्लेख छ।

दोस्रो ठूलो क्रिप्टोकरेन्सी इथेरियम यसअघि भन्दा ९९.९ प्रतिशत कम ऊर्जा खपत गर्ने नयाँ प्रणालीबाट सञ्चालन हुन लागिरहेको छ।

यसले क्रिप्टोकरेन्सीका कारण वातावरणमा हानी पुग्छ भन्ने आलोचकहरूका लागि पनि जवाफ दिने ठानिएको छ। यसलाई गगनचुम्बी भवन नगिराइकन नै जग परिवर्तन गर्ने कामसँग तुलना गरिएको छ।

अन्य क्रिप्टोकरेन्सी भने अझै पनि ऊर्जा खपतका दृष्टिले संवेदनशील हुने ठानिएको छ।

स्मरणरहोस् नेपालमा क्रिप्टोकरेन्सीको कारोबार अवैध र गैरकानूनी रहेको छ।

के हो क्रिप्टोकरेन्सी?
कुनै सामानको मूल्य तिर्न अहिले हामी नगद वा करेन्सीको प्रयोग गर्छौं जसलाई राष्ट्रको सरकार तथा ब्यांकहरूले मान्यता दिन्छन्।

क्रिप्टोकरेन्सी भनेको भौतिक नगदको प्रयोग नगरीकनै मूल्यको आदानप्रदान गर्ने भर्चुअल माध्यम हो। कम्प्युटर र इन्टरनेट सुविधाको प्रयोग गरेर जसकसैले संसारको जसकसैसँग यस्तो आदानप्रदान गर्नसक्छ।

हामीले नगद कारोबारका बेला कसैलाई भुक्तानी गर्छौं भने उसलाई क्रेडिट र आफूलाई डेबिट गर्छौं। त्यो काम भौतिक लेजरमा अङ्कित गरिन्छ खासगरी ब्यांकहरूमा।

क्रिप्टोकरेन्सीको हकमा त्यसरी मूल्य आदानप्रदानको रेकर्ड राखिने भर्चुअल प्रणालीलाई ब्लकचेन भनिन्छ।

अर्थात् कुनै नियामक सरकारी वा निजी कम्पनी वा ब्याङ्कको माध्यम वा सहारा विना नै मूल्य आदानप्रदान हुनसक्छ।

क्रिप्टोकरेन्सीको यो अति सामान्य व्याख्या भएपनि यसका विभिन्न प्रकारका हुन्छन् जसमध्ये बिटक्वाइन सबैभन्दा चर्चित छ।

प्रकाशित: १७ आश्विन २०७९, सोमबार

तपाइको प्रतिक्रिया