दशैं, तिहारजस्ता बिदामा इन्टरनेट र मोबाइलको अधिक प्रयोगले बालबालिका समस्यामा

  • Technology Khabar | १७ आश्विन २०७९, सोमबार
दशैं, तिहारजस्ता बिदामा इन्टरनेट र मोबाइलको अधिक प्रयोगले बालबालिका समस्यामा
सांकेतिक तस्बिर

काठमाडौं ।

– किरण अधिकारी

वीर अस्पतालकी नर्स विनिता शर्मालाई सोमबारदेखि हुने विद्यालयको दशैं बिदाले तनाबमा छिन्। उनका पति बुटवलमा कार्यरत भएकाले एकल परिवारमा आफ्नो ८ वर्षे छोरालाई फोन रिसिभ गर्न मिल्ने मोबाइलसँगै खानेकुरा छाडेर, इन्टरनेट चलाउन दिने र आफू अस्पतालमा अलि खालि हुँदा फोन गरेर सम्पर्कमा आइरहनुको विकल्प नभएको उनी गुनासो गर्छिन्।

टेक्नोलोजीखबरसँग कुरा गर्दै उनले भनिन्,“५ वर्ष अघिसम्म लामो विदानै लिएर बस्ने भएकाले समस्या थिएन, अहिले ८ वर्षको छोराले बुझ्ने भएकाले छोराका लागि खानेकुराहरु सहित फोन रिसिभ गर्न मिल्ने मोबाइल फोन छोडेर अनलाईन गेमहरु खेल भन्दै खाली भएको बेला फोन गर्दै बस्नुको विकल्प छैन।”

उनिसँगै यति एयरलाइन्सको मुख्य कार्यालय सिनामंगल प्रसासन विभागमा कार्यरत करुणा अधिकारीले पनि दशैंको यस्तै दुखेसो गरिन्,“पहिला होमवर्क हुँदा, त्यसैको तनाबमा हुने भएकाले समस्या हुन्थ्यो, अहिले होमवर्क कमसँगै इन्टरनेट सहज भएकाले मोबाइल गेम सहज हुन्छ।”

हाम्रा २ जना सन्तान छन्, छोरी १० वर्षकी भइन् छोरा ३ वर्षको; ‘इन्टरनेट चलाउ खाजा खाउ’ भनेर नछोडी के गर्ने? भन्दै करुणाले प्रश्न गरिन्।

उनले थपिन्, “मेरा श्रीमान् गृह मन्त्रालयमा हुनुहुन्छ, उहाँको पनि धेरै बिदा छैन, मुख्य घर प्यूठान १४ गते शुक्रबार जाने भएकाले ४/५ दिन कसरी राख्ने ? सुरक्षाकै लागि फ्ल्याटको मुख्य ठोका बाहिरबाट ताल्चानै लगाउँछु, थुनेर राख्यो, बच्चाको अधिकार खोस्यो भनेर हुँदैन।”

यी त उदाहरण मात्र हुन्। सोमबार असोज १० गते घटस्थापनादेखि दशैं शुरु भएकाले सबै विद्यालय संस्थान बन्द हुन्छन्। एकल परिवारलाई बच्चाकै लागि इन्टरनेट चलाउन दिनुको विकल्प नभएको अभिभावको गुनासो छ।
सोमबारदेखि लामो समयका लागि चाडपर्वमा सबै शैक्षिक संस्थाहरु बन्द छन्। सरकारी एवं निजी कार्यालय बिदाको नियमानुसार ६ दिनमात्र दशैंको बिदा छ।

एकल परिवारमा पारिश्रमिक कट्टा सहितको लामो बिदा कि भने बच्चालाई इन्टरनेटको प्रयोग गर्न दिदैं मानसिक स्वास्थ्यमा प्रतिकूल असरमा पार्नुपर्ने बाध्यता देखिएको अभिभावकहरुको गुनासो छ।

चाडपर्वको निहुँमा बालबालिकामा पर्न सक्ने स्वास्थ्य समस्याको जिम्मा नेपाल सरकारले कसरी लिन्छ वा असर परेको व्यक्तिको जिम्मा लिँदा समस्या समाधान हुन्छ भन्ने बारेमा कुनै नियम कानून वा कार्यहरु गरेको छैन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नेपालमा कति विरामी भए, उपचारमा के भयो भनेर तथ्यांक संकलनमै व्यस्त हुने भएकाले यसलाई बेवास्था गरिएको होला? भन्ने प्रश्नको उत्तर दिंदै पूर्व स्वास्थ्य मन्त्री तथा युवा नेता गगन थापाले परिवारलाई एक्लै नछाडन सुझाब दिए। यस्तो बेला, घरमा कोही न कोही व्यवस्थाको लागि हुने भएकाले, विकल्पमा आफन्त खोज्दा राम्रो हुने उनको भनाई छ।

टेक्नोलोजीखबरसँग कुरा गर्दै उनले भने “म मन्त्री हुँदा पनि मेरो बच्चालाई घरमा बच्चाको हजुरबा/हजुरआमासँग छोडेका थियौं, व्यवस्थापनका लागि नेपाल सरकारले विकल्प खोज्नुपर्छ, मन्त्रालयले मात्र केही गर्न सक्दैन।”

यस्तै बैदेशिक रोजगार विज्ञ एवं समाजशास्त्री डा. गणेश गुरुङले लामो बिदामा बच्चाहरुलाई घुमाउने तथा रमाइलो गराउने व्यवसायीक संस्थाहरु खुलेको भए विकल्प हुने उल्लेख गरे।

प्रविधिको विकासले कोरोना संक्रमण जोखिमका समस्या र कारणले विद्यार्थीको शिक्षण सिकाइ इन्टरनेटमा र मोबाइल डिभाइसलगायतमा जोडियो। जसले समस्याहरु ल्याउन थालेकाले बच्चाहरुमा मानसिक तनाब हुनसक्ने डा. लोचन कार्की बताउँछन्।

उनले भने, “इन्टरनेट हेराउँदा आफूलाई सहज भएपनि बच्चाहरु तर्सिने रुने, कोही मात्तिने, कोही सबैभन्दा बलियो मैहुँ भन्दै झगडा गर्न खोज्ने हुने हुँदा बिदामा बच्चाको लागि विकल्प खोजौं, अभिभावकहरु पनि बच्चाको लागि सचेत हुनुपर्छ।”

प्रकाशित: १७ आश्विन २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...