नेपालमा ४ वर्षमा चार सयभन्दा बढी पोर्न साइट बन्द

  • Technology Khabar | १५ आश्विन २०७९, शनिबार
नेपालमा ४ वर्षमा चार सयभन्दा बढी पोर्न साइट बन्द

काठमाडौं ।

नेपालमा सञ्चालित स्वदेशी तथा विदेशी ४ सयभन्दा बढी पोर्न साइट बन्द गरिएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणका सूचना अधिकारी सूर्यप्रसाद लामिछानेका अनुसार नेपालमा हालसम्मम ४ सयभन्दा बढी पोर्न साइट माथि प्रतिबन्ध लगाइएको छ।

‘हालसम्म कति ओटा पोर्न साइट माथि प्रतिबन्ध लगाइयो भन्ने यकिन तथ्यांक छैन। हाम्रो जानकारीमा आएका पोर्न साइटलाई इन्टरनेट सेवा प्रदायक मार्फत बन्द गर्न निर्देशन दिने गरेका छौं,’ लामिछानेले टेक्नोलोजीखबरसँग भने, ‘४ सयभन्दा बढी पोर्न साइट बन्द गर्न लगाएका छौं। विश्वभर कयौं संख्यामा पोर्न साइट सञ्चालनमा रहेकाले ती सबैको बारेमा हामीलाई जानकारी हुँदैन।’

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय २०७५ असोज ५ गते यौनजन्य अश्लिल सामाग्रीको पहुँच बन्द गर्न प्राधिकरणलाई निर्देशन दिएको थियो। नेपालमा विगत ४ वर्षदेखि पोर्न साइट प्रतिबन्धित छ। ४ वर्षको अवधिमा ४ सयभन्दा बढी पोर्न साइट नेपालको इन्टरनेट प्रयोग गरेर हेर्न सकिँदैन।

मुलुकी अपराध संहिता २०७४ को दफा १२१ तथा अन्य प्रचलित कानुनले यौनजन्य अश्लिल सामग्रीहरुको आदान प्रदान, प्रकाशन तथा प्रशारणलाई बन्देज लगाएको छ। सोही कानूनलाई आधार मानेर मन्त्रालयले प्राधिकरणलाई पोर्न साइट बन्द गर्न निर्देशन दिएको हो।

सरकारको उक्त निर्देशनसँग प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई पोर्न साइटहरु बन्द गर्न निर्देशन दिँदै आइरहेको छ। प्राधिकरणमा यी पोर्न साइट हुन् भनेर आउने गुनासो र विभिन्न मिडियामा विश्वका मुख्य पार्न साइट हुन् भनेर प्रकाशित सूचनाका आधारमा त्यस्ता साइट बन्द गर्न इन्टरनेट सेवा प्रदायकलाई अनुरोध गर्दै आइरहेको सूचना अधिकारी लामिछाने बताउँछन्।

नेपाल भित्रै पनि पोर्न साइट सञ्चालनम भएको हुन सक्छ त्यो हाम्रो जानकारी नआएको हुन सक्छ। पोर्न साइट भन्ने जानकारी प्राप्त भएको खण्डमा त्यसलाई प्रतिबन्ध गर्न प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई तत्काल निर्देशन दिँदै आएको उनको दाबी छ।

प्रकाशित: १५ आश्विन २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...