मकवानपुरको सरकारी डाटा सेन्टर पुनःसञ्चालनमा, क्षतिको विवरण अझै थाहा भएन

  • Technology Khabar | १४ आश्विन २०७९, शुक्रबार
मकवानपुरको सरकारी डाटा सेन्टर पुनःसञ्चालनमा, क्षतिको विवरण अझै थाहा भएन

काठमाडौं ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रको हेटौंडास्थित सरकारी डाटा सेन्टर (डिजास्टर रिकभरी सेन्टर) पुनःसञ्चालनमा आएको छ।

गत आइतबार भएको आगलागीबाट हेटौंडाको डाटा सेन्टरको प्राविधिक कार्य ४ दिनसम्म बन्द भएको थियो।

डाटा सेन्टरको लागि प्रयोग हुने ब्याट्री राखिएको कोठामा कुनै कर्मचारी गएका बेला पानीको थोपा ब्याट्रीमा पर्दा लागेको आगो हेटौंडा उपमहानगरको दमकलसहित जिल्ला प्रहरी कार्यालय, बागमती प्रदेश प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो।

ब्याट्रि राखिएको कोठा बाहेक अरु कुनै पनि स्थानमा आगजनी नभएकाले ब्याट्रि परिवर्तन गरि डाटा सेन्टर मकवानपुरमा प्राविधिक कार्य बिहिबारदेखि पूर्ण रुपमा सुरु भएको राष्ट्रिय सूचना प्रविधि केन्द्रका सूचना अधिकारी रमेश प्रसाद पोखरेलले जानकारी दिए।

क्षतिको पूरा विवरण अवस्थाबारे थाहा पाउन प्रविधि केन्द्रको टोली हेटौडा गएपनि ब्याट्रीद्वारा भएको आगलागि क्षतिबारे पूर्ण विवरण दशैंपछि मात्र आउने उनले उल्लेख गरे।

क्षति नै थाहा नभईकन पूर्ण रुपमा सञ्चालनमा कसरी आयो? भन्ने प्रश्नमा उनले भने,“ब्याट्री हिटले गर्दा आगलागि भएपनि नोक्सानबारे अनुसन्धान हुन बाँकी भएकाले कुन कर्मचारी ब्याट्री राखिएको कोठामा छिर्दा ब्याट्रिमा पानी परेको हो? सबै सिसिटिभी रेकर्ड अनुसन्धान हुँदैछ, सामाग्री खरिद गर्दाको बिल बिजगदेखि सुरक्षा सबैलाई केलाउनुपर्ने भएकाले तथ्यांक सहितको पूर्ण क्षति विवरण आउन नसकेको हो।”

यसलाई नकारात्मक नलिई कार्यालय व्यवस्थापनमा अवलोकनमा ध्यान दिने पाठ सिकेकाले पनि सतर्क रहनका लागि सबै कर्मचारीलाई उत्तरदायित्वपूर्ण ज्ञानको आवश्यकता महशुस गरेको सूचना अधिकारी पौडेलले बताए।
यसअघि पनि काठमाडौंमा रहेको डाटा सेन्टरमा ब्याट्री पड्किएरै यस्तो घटना भएको थियो।

सबै स्थानमा ब्याट्रीकै कारणले आगो लाग्नु र क्षति पार्नुमा ब्याट्री नै कमसल खालको होइन र भन्ने शंका उत्पन्न गरेको छ। तर केन्द्रका सूचना अधिकारी पोखरेलले काठमाडौंमा जेनेटरमा आगो लागेको दाबी गरेका छन्।

कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को सहयोगमा ३ वर्ष अघि सन् २०१९ रु ३७ करोडको लागतमा डाटा सेन्टर निर्माण गरिएको हो।

प्रकाशित: १४ आश्विन २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...