विद्युतीय सवारीसाधन अविलम्ब चलाउन गृहमन्त्रीको निर्देशन

  • Technology Khabar | १२ आश्विन २०७९, बुधबार
विद्युतीय सवारीसाधन अविलम्ब चलाउन गृहमन्त्रीको निर्देशन
फाइल तस्बिर

काठमाडौं ।

गृहमन्त्री बालकृष्ण खाणले पर्यटकको सुविधाका लागि एसियाली विकास बैङ्क (एडीबी)ले लुम्बिनी विकास कोषलाई अनुदानस्वरूप उपलब्ध गराएका विद्युतीय सवारीसाधन तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् ।

विश्व पर्यटन दिवसका अवसरमा लुुम्बिनी प्रदेश पर्यटन मन्त्रालयले आयोजना गरेको लुम्बिनी प्रदेशको पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रममा उनले अनुदानमा आएका बस सञ्चालन गर्न नसक्ने भए कोषलाई सक्दिनँ भन्नसमेत सुझाव दिए।

“कोषले सञ्चालन गर्न नसक्ने भए सक्दिनँ भन्नु पर्यो, अन्यथा अविलम्ब सञ्चालन गर्नु पर्यो,” मन्त्री खाणले भने, “पर्यटकको सुविधाका लागि बस अविलम्ब चलाउनु पर्यो, हैन भने सक्दिनँ भनेर हात उठाउनु पर्यो ।”

विद्युतीय सवारीसाधनबाट पर्यटकलाई सुविधा दिने हो, त्यत्तिकै थन्क्याएर कवाडी बनाउने होइन भन्दै उनले बस सञ्चालनमा कुनै नीतिगत समस्या भए अन्तरमन्त्रालयबाट सहजीकरण गर्न सकिने धारणा पनि राखे। उनले विकास कोष, पर्यटन व्यवसायी, उद्योगी, व्यवसायी तथा सरोकारवालासँग विद्युुतीय बस सञ्चालनमा देखिएका समस्या र समाधानका उपायबारे समन्वयात्मक बैठक राखी बस सञ्चालनमा समस्या भए त्यसको जानकारी २४ घण्टाभित्र गराउनसमेत निर्देशन दिए ।

रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई समेत निर्देशन दिँदै गृहमन्त्री खाणले लुम्बिनीमा आउने पर्यटकलाई सहज यात्रा, प्रदूषण नियन्त्रण मात्र नभई विद्युतीय गाडी सञ्चालनमा आएपछि विदेशी मुद्रा सञ्चितिसमेत बढ्ने विश्वास व्यक्त गरे ।

हाल पेट्रोलियम पदार्थको आयात उच्च रहेको र त्यसको खपत घटाउन तथा वातावरण संरक्षणका लागि विद्युतीय बसहरू वरदान साबित हुने चर्चा गर्दै उनले नेपालको व्यापार घाटा कम गर्न पनि विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

भारतबाट स्थल मार्ग हुँदै नेपाल प्रवेश गर्ने र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत आउने पर्यटकलाई लुम्बिनी प्रदेशका पर्यटकीय स्थलहरूमा सहज ढङ्गले घुमघामका लागि विद्युतीय बसहरू प्रयोगमा ल्याउनुपर्ने भनाइ सम्बद्ध अधिकारीको छ । करिब १२ करोड मूल्यका पाँचवटा बस र १४ वटा भ्यान (ट्याक्सी) एडीबीले तीन वर्षअघि नै कोषलाई उपलब्ध गराएको थियो । यी सबै सवारीसाधन सञ्चालनमा नआउँदा कोष परिसरमा थन्किएका छन् ।

विद्युतीय सवारी चार्ज गर्न दुुई वर्षअघि नै सोलार प्लान्ट जडान गरेर चार्जिङ स्टेसनसमेत बनाइएको छ । बस सञ्चालन नहुँदा अनुदानकै १४ करोड रुपियाँ लागतमा निर्माण गरिएको उक्त प्लान्टबाट ५४ लाख मूल्यको विद्युत्समेत खेर गइरहेको छ।

गौतमबुद्ध विमानस्थल निर्माणका लागि ऋण सहयोग गरेको एडीबीले त्यहाँ अवतरण गर्ने पर्यटकलाई बुुद्ध सर्किट घुमाउने प्रयोजनका लागि अनुदानस्वरूप बस र भ्यान उपलब्ध गराएको थियो । विश्व सम्पदा स्थलमा सूचीकृत लुम्बिनीमा वातावरण प्रदूषण कम गर्न पनि विद्युतीय गाडी अनुदान दिएको एडीबीले जनाएको छ । गोरखापत्रबाट

प्रकाशित: १२ आश्विन २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दूर चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • १२ आश्विन २०७९, बुधबार