
काठमाडौं ।
चिनियाँ कम्पनीको स्वामित्वमा रहेको बेलायती विद्युतीय कार ब्रान्ड एमजी (मोरिस ग्यारेज) को चीनमा निर्मित नयाँ विद्युतीय कार नेपालमा आयात हुने भएको छ।
पछिल्लो समय विद्युतीय कार उत्पादनमा आक्रामक हुँदा कम्पनीले नयाँ नयाँ मोडलका विद्युतीय कार सार्वजनिक गरिरहेको छ।
एमजीको विद्युतीय कार जेडएस ईभी नेपाली बजारमासमेत सफल विद्युतीय कार हो। पछिल्लो समय सप्लाइको कठिनाई समाधान गर्दै तिहारसम्म नेपाल आपूर्ति हुने अपेक्षा गरिएको छ।
नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालका अध्यक्ष धु्रव थापाले पछिल्लो समय निर्माण भएका एमजी कार केहि समय रोकिएपनि अब आउने भएकोमा खुसी लागेको तर नेपाल ढिला आउने भएकाले नाडा अटो सोमा प्रर्दशन गर्न नपाउने जानकारी दिए।
एमजीले चीनमा र युरोपेली बजारमा मुलान ईभी एमजी फोर सार्वजनिक गर्दै बिक्री भइरहेको जनाएको छ।
चिनियाँ बजारका लागि एमजीले ३ रेन्ज अप्सनमा मुलान सार्वजनिक गरेको छ। यो कार चीनमा एमजी मुलान ईभीको मूल्य १८ हजार ६ सयदेखि २६ हजार ८ सय अमेरिकी डलर बराबर रहेको कम्पनीलाई उद्धत गर्दैै अटोमोबाइल न्यूजले जनाएको छ।
एमजी मुलान टू र फोर ह्वील ड्राइभ भर्सनमा सार्वजनिक भएको छ। मुलानको सुरुवाती मोडल ५१ किलोवाट आवरको ब्याट्री प्याकसहित १२५ किलोवाटको विद्युतीय मोटर हुनेछ।
त्यस्तै ६४ किलोवाट आवर ब्याट्री प्याक भएको मोटरमा १५० किलोवाटको सिंगल मोटर हुनेछ। त्यस्तै ६४ किलोवाट आवर ब्याट्री भएकै अर्को मोडलमा ३१५ किलोवाटको ट्वीन मोटर भएको अलह्वील ड्राइभ कारले बजार तताएको छ।
१२५ किलोवाट मोटर भएको विद्युतीय कारले एकपटकको फुल चार्जमा ३५० किलोमिटर रेन्ज दिने छ भने उच्च क्षमताको ३१५ केलोवाट मोटर भएको कारले ५२० किलोमिटर रेन्ज दिनेछ।
प्रकाशित: ६ आश्विन २०७९, बिहीबार