
काठमाडौं ।
नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकका लागि किफायती मूल्यका दैनिक प्रयोग गर्न सकिने साथै मासिकरुपले प्रयोग गर्न सकिने सजिलो प्रिपेड कम्बो अफर उपलब्ध गराइरहेको छ।
कम्पनीका प्रिपेड मोबाइलका ग्राहकहरुका लागि कम्पनीले यही असोज २ गतेदेखि रु. १९९ देखि रु. ६९९ सम्मका भ्वाइस, डाटा र सन्देश पठाउन सकिने प्याकहरु ल्याएको नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए।
एकपटक लिएपछि २८ दिनसम्म प्रयोग गर्न सकिने यस अफर अन्तर्गत रु. १९९ मा ४२०० एमबी (दैनिक १५० एमबी) डाटा, ४२० मिनेट (दैनिक १५ मिनेट) कुराकानी गर्ने र ४२० (दैनिक १५) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । जम्मा रु. ३४९ मा १४,००० एमबी (दैनिक ५०० एमबी) डाटा, १४०० मिनेट (दैनिक ५० मिनेट) कुराकानी गर्ने र १४०० (दैनिक ५०) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध रहेको छ।
यसैगरी रु. ४९९ मा १९,६०० एमबी (दैनिक ७०० एमबी) डाटा, १९६० मिनेट (दैनिक ७० मिनेट) कुराकानी गर्ने र १९६० (दैनिक ७०) वटा सन्देश पठाउन सकिने सुविधा प्रयोग गर्न सकिन्छ । यस अफर अन्तर्गत रु. ६९९ मा २८ जिबी (दैनिक १ जिबी) डाटा, २८०० मिनेट (दैनिक १०० मिनेट) कुराकानी गर्ने र २८०० (दैनिक १००) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । अफर अन्तर्गत उपलब्ध सबै सुविधाहरु खरिद गरेको मितिदेखि २८ दिनसम्म सबै नेटवर्कमा प्रयोग गर्न सकिन्छ ।
कम्पनीकाअनुसार यस अफर अन्तर्गत सन्देश मात्र पठाउनु पर्ने ग्राहकको आवश्यकतालाई ध्यानमा राखी जम्मा रु. ९८ मा २८ दिन भित्रमा जम्मा ६०० वटा र रु. ६० मा जम्मा ३०० ओटा सन्देश पठाउन सकिने सुविधा पनि उपलब्ध गराइएको छ।
प्रकाशित: ५ आश्विन २०७९, बुधबार