
काठमाडौं ।
बाँकेको नरैनापुर गाउँपालिकाले २६ जना उत्कृष्ट विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको छ। विद्यालयले उत्कृष्ट काम गरेकालाई सम्मान र पुरस्कृत गरिएको पालिकाले जनाएको छ ।
दक्षिणा यादव र पवनसिंह यादवले एसइईमा पालिकामा सर्वोत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण भएकोमा दुवै जनालाई ल्यापटप प्रदान गरिएको छ। अन्य उत्कृष्ट विद्यार्थीलाई कपी, झोला, प्रमाणपत्र प्रदान गरी सम्मानित गरिएको छ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष इश्तियाक अहमद साहले विकास भनेको सडक निर्माण गर्नु मात्र नभई गुणस्तरीय शिक्षामा अघि बढ्नु पनि विकास भएको चर्चा गरे। गाउँपालिकाले शिक्षालाई उच्च प्राथमिकतामा राखेर कार्यक्रम अगाडि बढाएको उनले बताए।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालका अनुसार सम्मानले भावी दिनमा शिक्षण सिकाइमा ऊर्जा प्रदान गर्ने बताए। ल्यापटप पाएका विद्यार्थी पवनसिंह यादवले आफूले कल्पना समेत नगरेको पुरस्कार पाएको भन्दै खुसी व्यक्त गरे। यसबाट अन्य विद्यार्थीलाई पनि हौसला पुग्ने उनले विश्वास व्यक्त गरे।
गाउँपालिकाका शिक्षा अधिकृत कृष्णप्रसाद थारुले शिक्षामा पछाडि परेको नरैनापुरलाई क्रमशः माथि उठाउने काम भइरहेको बताए। केही वर्ष पहिलेसम्म यो क्षेत्रका अधिकांश विद्यालयमा शिक्षक र बालबालिका दुवै नभेटिने गरेकोमा हाल आएर शिक्षक र विद्यार्थी दुवै नियमित भएको बताए।
गोरखापत्रबाट
प्रकाशित: ३ आश्विन २०७९, सोमबार