काठमाडौं रिङरोडमा विद्युतीय बस चल्ने : लगानी बोर्डका सीईओ भट्ट

  • Technology Khabar | ३ आश्विन २०७९, सोमबार

काठमाडौं ।

किरण अधिकारी

लगानी बोर्डले काठमाडौं उपत्यकाको चक्रपथ (रिङरोड) मा विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेको छ।

बोर्डले विद्युतीय बस सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न कार्यगत सर्त (टिओआर) तयार पारेको प्रमुख कार्यकारी अधिकृत (सिइओ)सुशील भट्टले जानकारी दिए।

टेक्नोलोजिखबरडटकमसँग कुरा गर्दै उनले भने,“टिओआरसँगै, परियोजना सम्भाव्यता अध्ययन हुनुका साथै २७.३० किलोमिटर चक्रपथमा विद्युतीय बस सञ्चालनमा आउनेछ, यसको लागि करिब २० अर्ब रुपैयाँ लाग्ने भएकाले सहकार्यको लागि निजी क्षेत्रलाई समेत आवहन गरिएको छ।”

योसँगै लगानी बोर्डको तयारी के छ भन्ने प्रश्नमा प्रमुख कार्यकारी अधिकृत भट्टले बोर्डले सम्भाव्यता अध्ययन गरेपछि लगानीका लागि प्रस्ताव आह्वान गर्नुका साथै प्रस्ताव गर्ने लगानीकर्ताले आयोजनाको डिपिआर तयार गर्नुपर्ने भएकाले सार्वजनिक–निजी साझेदारी (पिपिपी) मा निर्माण हुने जानकारी दिए।

२७ बस स्टेशन रहने चक्रपथ सडकमा दैनिक १ सय ६० बस गुड्ने अपेक्षा लगानी बोर्डको छ।

प्रमुख कार्यकारी अधिकृत भट्टले भने, “सरकारी नीतिअनुसार विद्युतीय सवारी सञ्चालन हुने भएकाले प्रविधिका लागि लगानी बोर्ड अघि बढेको छ।”

विद्युतीय गाडीको इको सिस्टमको लागि विद्युतीय गाडी उत्पादनसँगै चार्जिङ स्टेसन आवश्यक रहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले दाबी गरे।

भट्टले थपे, “विभिन्न राष्ट्रका सवारी साधन उत्पादक कम्पनी नेपालमा विद्युतीय गाडी उत्पादन गर्न सहमत हुनुका साथै निजी क्षेत्रबाट पनि विद्युतीय सवारी साधन आयातमा जोड दिएकाले पनि विद्युतीय गाडीको पूर्ण इको सिस्टम बनाउनेमा बोर्डको जोड छ।”

जलवायु परिवर्तन भइरहेको समयमा स्वच्छ ऊर्जा प्रयोग हुँदा कार्बन उत्सर्जन रोकिने, अत्यधिक आयात हुने पेट्रोलियम पदार्थ घट्दा नेपालको व्यापारघाटा कम हुनुका साथै अन्तर्राष्ट्रिय क्लाइमेट फाइनान्सको लागि सहयोग पुग्ने बोर्डको दाबी छ।

चक्रपथसँगै लगानी बोर्डले नेपालको सातै प्रदेशमा विद्युतीय गाडीको इको सिस्टम हुने गरी चार्जिङ स्टेसन बनाउने जनाएको छ।
बोर्डले प्रदेशका मुख्य सहरमा ४२४ वटा चार्जिङ स्टेसन निर्माण समेत गर्ने छ।

केहि बर्ष अघि सरकारको लागतमा राजधानीको त्रिपुरेश्वरदेखि भक्तपुरको सूर्यविनायकसम्म विद्युतीय ट्रलिबस सञ्चालन गरेको भएपनि राजनीतिक हस्तक्षेपका कारण ट्रलिबस सेवा बन्द भएको इतिहास छ।

प्रकाशित: ३ आश्विन २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार