राजमार्गमा दर्जनभन्दा बढी विद्युतीय चार्जिङ स्टेसन

  • Technology Khabar | २ आश्विन २०७९, आईतवार
राजमार्गमा दर्जनभन्दा बढी विद्युतीय चार्जिङ स्टेसन
फाइल तस्बिर

काठमाडौं ।

विद्युतीय सवारीसाधनको प्रयोग र प्रवद्र्धनमा जोड दिँदै आएको नेपाल विद्युत् प्राधिकरणले बर्दिबासमा चार्जिङ स्टेसन स्थापना गर्न लागेको छ। प्राधिकरण र नेपाल प्रहरीबीच भएको सम्झौताअन्तर्गत इलाका प्रहरी कार्यालय बर्दिबासको परिसरमा निर्माण कार्य सुरु भएको हो।

यसका लागि बर्दिबास प्रहरीले आवश्यक जग्गा उपलब्ध गराएको छ भने ठेकेदार कम्पनीले चार्जिङ मेसिन, ट्रान्सफर्मर, पोललगायतका आवश्यक सामग्रीसमेत निर्माण स्थलमा पुर्याएका छन्। सेवा पनि छिट्टै सुरू हुने जनाइएको छ। चाइनिज ठेकेदार ‘वाङ बान डिजिटल इनर्जी कम्पनी’ र नेपाल विद्युत् प्राधिकरणबीच मुलुकका ५१ ठाउँमा चार्जिङ स्टेसन स्थापना गर्ने सम्झौताअन्तर्गत बर्दिबासमा पनि निर्माण हुन लागेको हो।

चिनिया ठेकेदार कम्पनीका नेपालस्थित प्रतिनिधि ‘दीगो’का प्रोजेक्ट म्यानेजर शिव अधिकारीका अनुसार एउटै स्टेसनमा ‘जीवीटी’ र ‘सीसीएस’ गरी दुई प्रकारका चार्जिङ मेसिन जडान गरिने छन्।

ठूूला सवारीका लागि ‘जीवीटी’ र साना सवारीका लागि ‘सीसीएस’ मेसीनले चार्ज गर्ने जनाएको छ। दुवैले एक पटकमा तीन–तीनवटा गरी छवटा सवारी चार्ज गर्न सक्ने अधिकारीले बताए। “दसैँअघि नै स्टेसनबाट चार्जिङ सुविधा प्रदान गर्ने लक्ष्य रहेकोले द्रुत गतिले काम अघि बढाएका छाैँ,” अधिकारीले भने।

बर्दिबासमा जडान हुने अत्याधुनिक र प्रविधिमैत्री चार्जिङ स्टेसनमा मोबाइल एपबाटै भुक्तानी, चार्जिङका लागि समय बुकिङ र स्टेसन खाली वा व्यस्त छ हेर्न मिल्ने सुविधासमेत रहेको उनले बताए।

प्राधिकरणले विद्युतीय सवारीलाई प्रोत्साहन गर्न सहुलियत दरमा चार्जिङ सुविधा दिने भएकोले यात्रालाई सहज, सरल र मितव्ययी बनाएको विद्युतीय सवारी चालकले जनाएका छन्।

बर्दिबासस्थित सवारी चालक प्रमोद कार्कीका अनुसार अहिले बर्दिबासबाट काठमाडौँसम्म पुग्न हाइस, बलेरो जस्ता सवारीलाई तीन हजारदेखि ३५ सय रुपियाँको तेल लाग्छ। तर बढीमा पाँच सय रुपियाँको चार्जले उत्तिकै दूरी पुग्ने हुँदा विद्युतीय सवारी मितव्ययी र वातावरण अनुकूल भएको प्रोजेक्ट म्यानेजर अधिकारीले जनाए।

जिल्ला ट्राफिक कार्यालय बर्दिबासका अनुसार अहिले पूर्वाञ्चलदेखि बीपी राजमार्ग हुँदै एक सयभन्दा बढी विद्युतीय सवारी गुड्ने गरेका छन्। चार्जिङ सुविधाले यस्ता सवारीको प्रयोगमा प्रोत्साहन मिल्ने ट्राफिक प्रमुख उदयसिंह सिन्जापतीले बताए। गोरखापत्रबाट

प्रकाशित: २ आश्विन २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार