शुक्रबारदेखि नेपाल टेलिकमले निःशुल्क ई-सिम वितरण गर्ने, यस्तो छ प्रक्रिया

  • Technology Khabar | ३० भाद्र २०७९, बिहीबार

काठमाडौं ।

नेपाल टेलिकमले दूरसञ्चार कार्यालय, सुन्धारा काउन्टरबाट शुक्रबारदेखि कम्पनीका ग्राहकहरुलाई निःशुल्क ई-सिम वितरण प्रारम्भ गर्ने भएको छ। ई-सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरुले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्नेछन्।

हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरुका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई-सिममा परिवर्तन गर्न सकिने छ। त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा ई-सिम उपलब्ध गराइने छ भने नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई भने निकट भविष्यमा सो सिम उपलब्ध गराइने छ।

ई-सिम सपोर्ट गर्ने मोबाइल सेट भएका नेपाल टेलिकमका पहिले देखिका ग्राहकले सो सिम लिनका लागि आवश्यक फारम भरेर बुझाउनु पर्नेछ।

ई-सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो। ई–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन। यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ।

ई-सिम प्रयोगमा आएपश्चात सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन। मोबाइल सेटबाहेक ई-सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइसहरुमा समेत प्रयोग गर्न सकिन्छ।

हालका सबै प्रयोगकर्ताले समेत ई-सिम प्रयोग गर्न सक्नुहुनेछ भने नयाँ प्रयोगकर्ताले पनि सहज तरिकाले ई-सिम लिन सक्ने टेलिकमको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ३० भाद्र २०७९, बिहीबार

तपाइको प्रतिक्रिया