
काठमाडौं ।
शर्ट भिडियो शेयर गर्ने प्लेटफर्म टिकटकले आफ्नो एपको डाटा ब्रिच नभएको बताएको छ। केही दिन अघि, “एगेन्स्ट द वेस्ट” भनेर चिनिने ह्याकर समूहले टिकटक र वीच्याटमा सुरक्षा उल्लंघनहरू फेला पारेको दाबी गर्दै ह्याकिङ फोरममा पोस्ट साझा गरेको थियो।
तर टिकटकले आधिकारिक रूपमा ह्याकरहरूले यसको सोर्स कोड र संवेदनशील प्रयोगकर्ता डाटा लीक गरेको सबै रिपोर्टहरूलाई अस्वीकार गरेको छ।
हालै ह्याकरहरूले टिकटकको एक अर्ब भन्दा बढी प्रयोगकर्ताको जानकारी लीक गरेको दावी गरेका थिए। ह्याकरले टिकटकको सोर्स कोडको पहुँच पाएको दाबी गरेका थिए।
एगेन्स्ट द वेस्टद्वारा बनाईएको मूल पोष्टमा कथित रूपमा टिकटक र वीच्याटसँग सम्बन्धित डाटाबेसको स्क्रिनसटहरू छन्। ह्याकरहरूको दाबीअनुसार ७९० जीबी डाटाबेसमा प्रयोगकर्ताको डाटा, प्लेटफर्म तथ्याङ्क, सफ्टवेयर कोड, टोकनहरू र थप सहित २ अर्ब भन्दा बढी रेकर्डहरू छन्।
तर टिकटककाअनुसार ह्याकरले पोस्ट गरेको सोर्स कोड टिकटकको प्लेटफर्मसँग सम्बन्धित नभएको उल्लेख छ। र सो भ्रामक दाबी भएको कम्पनीले जनाएको छ।
प्रकाशित: २२ भाद्र २०७९, बुधबार