भन्सार छलि चोरी पैठारी गरी ल्याइएका ६ थान आईफोन मोबाइलहरू सहित २ जनालाई काठमाडौं महानगरपालिका-१४ बल्खुबाट शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका-६ बस्ने २६ वर्षीय सबिन छेंगुतला र स्याङ्जा बिरूवा गाउँपालिका-४ घर भई हाल काठमाडौं ठमेल बस्ने २२ वर्षीय कृष्ण बहादुर थापा रहेको प्रहरीले जानकारी दिएको छ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा भन्सार छलि चोरी पैठारी गरी ल्याइएका मोबाइलहरू बिक्री भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त मोबाइलहरू सहित फेला पारी पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरणमा पठाइएको प्रहरीले जनाएको छ।
