भारतले स्याटेलाइट प्रक्षेपणको लागत घटाउन पुनः प्रयोगयोग्य रकेट निर्माण गर्ने

  • Technology Khabar | २१ भाद्र २०७९, मंगलवार
भारतले स्याटेलाइट प्रक्षेपणको लागत घटाउन पुनः प्रयोगयोग्य रकेट निर्माण गर्ने

काठमाडौं ।

भारतले पुनः प्रयोग गर्न सकिने किसिमको रकेटको निर्माण गर्ने भएको छ।भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का अध्यक्ष तथा अन्तरिक्ष सचिव एस सोमनाथले सोमबार बैंगलोर स्पेस एक्सपो २०२२ को समयमा भारतले विश्वव्यापी बजारको लागि नयाँ पुन: प्रयोगयोग्य रकेट डिजाइन र निर्माण गर्ने योजना गरिरहेको घोषणा गरे।

जीएसएलभी एमके ३ पछि, इसरोको अर्को प्रक्षेपण भेहिकल पुन: प्रयोज्य रकेट हुन सक्छ, जसले स्याटेलाइट प्रक्षेपणको लागत घटाउने अपेक्षा गरिएको छ।

भारतीय अन्तरिक्ष एजेन्सीले अन्तरिक्ष उद्योग, स्टार्टअप र न्यूस्पेस इन्डिया लिमिटेड (एनएसआईएल)सँग पुन: प्रयोगयोग्य रकेटका लागि काम गरिरहेको बताइएको छ।

एक पीटीआई रिपोर्टअनुसार, बैंगलोर स्पेस एक्सपो २०२२ को ७ औं संस्करणको समयमा, इसरो अध्यक्ष एस सोमनाथले नयाँ पुन प्रयोग गर्न सकिने रकेट डिजाइन र निर्माण गर्ने योजना घोषणा गरे। हाल, इसरोले कक्षमा एक किलोग्राम पेलोड राख्नको लागि १० हजार डलरदेखि १५ हजार डलरको बिचमा खर्च गर्नुपर्छ।

इसरोले यो लागत घटाएर ५ हजार डलर वा १ हजार डलर प्रति किलोग्राम गर्नुपर्ने एस सोमनाथले भनेका छन्। यसका लागि एउटै उपाय भनेको रकेटलाई पुन: प्रयोगयोग्य बनाउनु हो। अर्थात्, एक पटक लन्च गरेपछि फेरि लन्च गर्न सकिन्छ। उनले लन्च भेहिकल क्षेत्रमा भने मुलुकमा पुनः प्रयोगयोग्य प्रविधि नभएको बताए ।

अन्तरिक्ष एजेन्सीले इन्फ्लेटेबल एरोडायनामिक डिसेलेटर (आईएडी) लगायतका विभिन्न प्रविधिमा काम गरिरहेको छ। यी नयाँ प्रविधिहरू संयोजन गरेर, अन्तरिक्ष एजेन्सीले नयाँ प्रयोगयोग्य रकेट बनाउन उद्योग, स्टार्टअप र न्यूजस्पेस इन्डिया लिमिटेडसँग हात मिलाउन चाहेको समाचारमा उल्लेख छ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आफ्ना सबै प्रक्षेपणका लागि त्यस्ता रकेटहरू प्रयोग गरिरहेको छ। अर्बपति इलन मस्कको कम्पनी स्पेसएक्सको फाल्कन रकेट पनि पुन: प्रयोगयोग्य रकेट हो, जसको माध्यमबाट नासाले पनि आफ्ना धेरै मिसनहरू प्रक्षेपण गरेको छ। यो रकेटले सफलतापूर्वक मिसन प्रक्षेपण गरेपछि पृथ्वीमा सुरक्षित अवतरण गर्छ र फेरि प्रयोगको लागि तयार हुन्छ।

प्रकाशित: २१ भाद्र २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार