स्वतः नवीकरण हुनेगरी भास सेवा चलाउने सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको चेतावनी

  • Technology Khabar | २० भाद्र २०७९, सोमबार
स्वतः नवीकरण हुनेगरी भास सेवा चलाउने सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको चेतावनी

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले हाल स्वतः नवीकरण हुने गरी भास सेवा संचालन गरेको भन्दै भास अर्थात भ्यालु एडेड सर्भिसलाई स्वतः नवीकरण गर्न नपाईने व्यवस्था गर्न निर्देशन दिएको छ।

दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै भास सेवा स्वतः नवीकरण वा अटो रिन्यू हुने गरी संचालन नगर्न/नगराउने सबै दूरसञ्चार सेवा प्रदायकहरुलाई भनेको हो।

सेवा प्रदायकहरुले भ्यालु एडेड सर्भिस सेवाको अवधि सकिन लागेको जानकारी उक्त सेवाका ग्राहकहरुलाई सेवा अवधी सकिनु अगावै एसएमएस मार्फत निःशुल्क रुपमा पठाउनु पर्ने, सेवा नवीकरण गर्ने/नगर्ने सम्बन्धमा एसएमएस मार्फत ग्राहकको प्रतिक्रिया माग गर्नु पर्नेलगायतका निर्देशन समेत दिएको छ।

त्यस्तै एसएमएसमार्फत नवीकरण गर्न अनुरोध गर्ने ग्राहकका लागि सेवा प्रदायकले सो सेवा नवीकरण गर्ने व्यवस्था गर्नुपर्ने तर एसएमएसमार्फत नवीकरण नगर्ने जानकारी गराउने तथा कुनै प्रतिक्रिया नजनाउने ग्राहकहरुका लागि उक्त सेवा स्वतः नवीकरण नगर्न नगराउन प्राधिकरणबाट बिभिन्न समयमा निर्देशन दिईएको बारेमा समेत जानकारी गराईएको छ।

“हाल सामाजिक संजालहरुमा प्राधिकरणले दिएको निर्देशन विपरित स्वतः नवीकरण हुने गरी भास सेवा संचालन गरेको भन्ने बुझिन आएकोले कसैले पनि स्वतः नवीकरण हुने गरी भास सेवा संचालन नगर्नु/नगराउनु हुन सूचित गरिन्छ। कसैले पनि प्राधिकरणको निर्देशन विपरित स्वतः नवीकरण हुने गरी भास सेवा संचालन गर्ने/गराउने गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने,” सार्वजनिक सूचनामा भनिएको छ।

निर्देशन विपरित कोही कसैले पनि स्वतः नवीकरण हुने गरी भास सेवा संचालन गरेको विषयमा कसैलाई जानकारी भएमा तल उल्लिखित ठेगानामा सम्पर्क/सूचित गर्नसमेत प्राधिकरणले सबैसँग अनुरोध गरेको छ।

 

Notice-regarding-renewal-of-VAS

प्रकाशित: २० भाद्र २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...