कल सेन्टरमा श्रम मन्त्री, वैदेशिक रोजगारमा गएकाको समस्या सुन्दै

  • Technology Khabar | २० भाद्र २०७९, सोमबार
कल सेन्टरमा श्रम मन्त्री, वैदेशिक रोजगारमा गएकाको समस्या सुन्दै

काठमाडौं ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर आइतबार बिहान ११ बजे मन्त्रालयकै कल सेन्टरमा छिर्दै गर्दा सप्तरीबाट विष्णुदेव साहको फोन आयो।

मन्त्री कुँवरले फोन उठाउने बित्तिकै साहले रुन्चे स्वरमा भने, “मन्त्रीज्यू ! गएको वैशाख २ गते सडक दुर्घटनामा परी मृत्यु भएको मेरो भाइ सुरेन्द्रप्रसाद साहको शव साउदीमै अलपत्र छ, छिटो नेपाल झिकाउन पहल गरिदिनुपर्यो।”

मन्त्री कुँवरले साहलाई आश्वासन दिँदै भने, “पाँच महिनासम्म शव पनि नपाउँदा तपाईंलाई भएको पीडा शब्दमा व्यक्त गर्न सकिँदैन। नआत्तिनुहोस्, साउदीबाट शव ल्याउन अन्य देशको तुलनामा धेरै जटिल छ, सामान्य अवस्थामा मृतकको शव डेढ/दुई महिनामा आउनुपर्ने पाँच महिनासम्म किन रोकिएको रहेछ म तुरुन्तै बुझ्छु।”

खाडीका अन्य देशको तुलनामा साउदीबाट शव ल्याउन सजिलो भने छैन । वैदेशिक रोजगार बोर्डका निर्देशक एवं प्रवक्ता टीकामणि न्यौपानेले साउदीमा सामान्य अवस्थामा मृत्यु भएका शव बढीमा दुई महिना र सडक दुर्घटना भएमा सात/आठ महिनासम्म पनि लाग्ने गरेको अनुभव सुनाए। उनले भने, “सडक दुर्घटनाबाट भएको मृत्युको साउदीमा अनुसन्धान प्रक्रिया अलिक झन्झटिलो छ, हामीले चाहेर छिटो हुँदैन।”

श्रममन्त्री कुँवरले मन्त्रालयमा रहेको वैदेशिक रोजगारीसम्बन्धी गुनासो सुनुवाइ कक्ष कल सेन्टरमा ‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रममा कल सेन्टरमा बसेर सुन्ने क्रममा साहको यस्तो गुनासो आएको हो।

आइतबार उनले कल सेन्टरमा बसेर बिहान ११ बजेदेखि १२ बजेसम्म एक घण्टा फोनमा श्रमिकका गुनासा र जिज्ञासा सुुनेर साहसहितका १० जनालाई मन्त्रालयसँग सम्बन्धित श्रमिकका गुनासा तत्काल सम्बोधन गर्ने आश्वासन दिए।

उनले नेपाली श्रमिकले वैदेशिक रोजगारीका क्रममा विदेशमा भोग्नुपरेका विभिन्न समस्या फोनमार्फत सुन्नका लागि साताको एक दिन एक घण्टा समय छुट्याएको मन्त्री कुँवरले बताए। सो क्रममा वैदेशिक रोजगारीमै साउदी र मलेसियामा रहेका नेपाली श्रमिकले कम्पनीले काम नदिएको र आफू बिरामी भएर अस्पतालमा उपचार गराइरहेको गुनासो मन्त्रीलाई सुनाएका थिए।

मन्त्री कुँवरले सरकारले शून्य लागतमा पठाउने भनिएका देशमा समेत एजेन्टमार्फत जताततै श्रमिक ठगिएका भन्दै तत्काल नियन्त्रण गर्ने विश्वास दिलाए। सम्बन्धित निकायलाई समस्या समाधानका लागि पहल गर्ने उनको भनाइ छ। उनले शून्य लागतमा वैदेशिक रोजगारीमा जान सक्ने सम्झौता भएका देशमा समेत एजेन्टले साढे तीन लाख रुपियाँसम्म लिएको गुनासो आएकाले मन्त्रालयले त्यसको अनुगमन सुरु गरेको पनि जानकारी दिए।

मन्त्री कुँवर काठमाडौँ रहेका बेलामा मात्रै तोकिएको समयमा मन्त्रीसँग आफ्ना गुनासा, जिज्ञासा, समस्या र सुझावमा कुरा गर्न सकिनेसमेत मन्त्रालयले जनाएको छ। गोरखापत्रबाट

प्रकाशित: २० भाद्र २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार