
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले ‘एम टू एम’ अर्थात् एउटा मेसिनबाट अर्को मेसिनबीच सम्पर्क कायम गर्न प्रयोग हुने सिमकार्ड बिक्रीमा लगाएको रोक फुकुवा गरेको छ।
यसअघि दूरसञ्चार सेवा प्रदायकहरुलाई गएको चैतमा पत्र पठाउँदै प्राधिकरणले ‘एम टू एम’ सिमकार्ड बिक्री नगर्न निर्देशन दिएको थियो।
तर आजै नियमनकारी निकाय प्राधिकरणले एक पत्र पठाउँदै नेपाल टेलिकमको हकमा लगाईएको रोक फुकुवा गरेको हो।
प्राधिकरणले तत्कालका लागि नेपाल टेलिकमलाई एम टू एम सिमकार्ड बिक्री गर्न बाटो खुला गरिदिएको हो। जसअनुसार कम्पनीले अब मेसिन टू मेसिनमा प्रयोग हुने सिमकार्डका लागि ९७६ बाट शुरु हुने नम्बर प्रयोग गर्न पाउने छ।
यसका साथै कम्पनीले भविश्यमा प्राधिकरणले तयार पारिरहेको राष्ट्रिय नम्बरिङ्ग योजनाअनुसार हुने गरी सो बिक्री खुला गरेको हो।
नेपाल टेलिकमले एम टू एम सिमकार्ड बिक्री गर्न नपाउँदा दैनिक २ सयदेखि ३ सय सिम बिक्रीको आम्दानी गुमाउँदै आएको थियो। पछिल्लो समय ‘एम टू एम’ सिमकार्डका लागि माग आउँदासमेत सिमकार्ड बिक्री गर्न नसकेको टेलिकमले गुनासो गर्दै आएको थियो।
कम्पनीलाई नियमनकारी निकायले गत चैतदेखि नै एम टू एम सिमकार्ड बिक्रीमा रोक लगाउँदै आएको थियो। अब भने टेलिकमले प्रदान गरिएको नम्बरीङ्गको आधारमा एम टू एम सिम बेच्न सक्ने भएको छ।
नेपाल टेलिकमका सह प्रवक्ता रंजित लोहियाले एम टू एमको सिम बिक्रीका लागि नियामकले अनुमति दिएको टेक्नोलोजीखबरलाई जानकारी दिए।
“आजै हामीलाई एनटीएले पत्र पठाएर नम्बरिङ्ग दिएको छ र सोहीअनुसार अब एम टू एमको सिम बिक्री बितरण गर्न सक्नेछौं,” लोहियाले भने।
टेलिकमकाअनुसार कम्पनीले हालसम्म एम टू एम सिम ७० हजार भन्दा धेरै बिक्री गरिसकेको छ। कम्पनीले बिक्रीमा रोक लगाएको अवधिमा करोडौं रुपैयाँ गुमाएको जनाएको छ।
एम टू एम सिमकार्ड भेहिकल ट्र्याकिङ, नेपाल विद्युत प्राधिकरणको स्मार्ट मिटरमा प्रयोग, नागरिक उड्डयन प्राधिकरणका उपकरणहरुमा प्रयोग हुने गरेका छन्। यसमार्फत इन्टरनेट नभएको ठाउँमा समेत जीपीआरएस वा थ्रीजी प्रविधिमार्फत डाटा पठाउन प्रयोग हुने गर्दछ।
प्रकाशित: १७ भाद्र २०७९, शुक्रबार